काठमाण्डु – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय क्षेत्रका विकृति अन्त्य गर्न न्याय परिषद्लाई गतिशील बनाउनुपर्ने बताएका छन् ।
बुधबार न्याय परिषद् दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्याय परिषद्लाई गतिशील र जिम्मेवार बनाउन सके मात्रै न्याय क्षेत्रमा देखापरेका विकृति र विसंगतिहरूको अन्त्य गर्न सकिने बताए ।
प्रधानन्यायाधीश राउतले न्याय परिषद्को सक्रियता समग्र न्याय प्रणालीको सुदृढीकरणको प्रस्थानबिन्दु भएको बताए । उनले न्याय परिषद्ले सम्पादन गर्ने कुनै पनि काम–कारबाही पारदर्शी हुनुपर्ने बताए । न्याय परिषद्ले समय सान्दर्भिक रूपले विकसित भएका नवीन अवधारणाहरूलाई क्रमशः आन्तरिकीकरण गर्दै आफ्ना परम्परागत भूमिकाबाट अगाडि बढ्दै आजको युगमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बेला भएको उनले बताए ।
‘नेपालको संविधानले आत्मसाथ गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मूल्य र मान्यताको जगेर्ना गर्ने सशक्त निकायको रूपमा न्याय परिषद्लाई राखेको छ । न्यायाधीशका नियुक्ति, सरुवा सम्बन्धी कारबाही र न्याय प्रशासन सम्बन्धी अन्य विषयहरूमा सिफारिस गर्ने संवैधानिक गर्ने निकायबारे न्याय परिषद्ले जिम्मेवारी निर्वाह गर्नुपर्नेमा कुनै दुईमत छैन । यसमा परिषदीय प्रणाली अवलम्बन गरी न्यायपालिका, सरकार एवं सरोकारवालको अभिमत व्यक्त गर्ने सामूहिक थलोको रूपमा समेत न्याय परिषद्लाई आत्मसाथ गरिएको छ,’ उनले भने ।
प्रधानन्यायाधीश राउतले नेपालको संविधानले समग्र देशको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशलाई दिएको कुरालाई आत्मसाथ गर्दै जिम्मेवारी निर्वाह गर्ने भरपर्दो सारथिको रूपमा न्याय परिषद्लाई लिएको बताएका छन् ।
प्रतिक्रिया