काठमाण्डु महानगर खेलाडी तयार गर्दै, ८ हजार विद्यार्थी प्रशिक्षण चरणमा प्रवेश

काठमाण्डु महानगर खेलाडी तयार गर्दै, ८ हजार विद्यार्थी प्रशिक्षण चरणमा प्रवेश


काठमाण्डु – राजधानीस्थित काठमाण्डु महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत ८ हजार १६ जना विद्यार्थीलाई प्रशिक्षण चरणमा छनोट गरिएको छ ।

महानगरपालिकाको स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत ४–१२ कक्षासम्मका विद्यार्थीहरूलाई ३ समूहमा बाँडेर छनोट गरेको हो । यसमा ४ देखि ८ कक्षासम्मका विद्यार्थी एउटा समूहमा छन् । १० कक्षाका विद्यार्थी दोस्रो समूहमा छन् । ९, ११ र १२ कक्षाका तेस्रो समूहमा छन् ।

प्रशिक्षण हुनुपूर्व विद्यार्थीबाट माग गरिएको आवेदनका आधारमा १० हजार ९९५ जना विद्यार्थीले खेलमा रुचि देखाएका थिए । उनीहरूको रुचि, शारीरिक अवस्था, खेलप्रतिको पूर्व ज्ञान र छनोटकै दिन प्रदर्शन गरिएको खेल प्रस्तुतिका आधारमा सम्बन्धित खेलका प्रशिक्षकबाट खेलाडी छनोट गरिएको खेल सञ्चालन निर्देशक समितिका संयोजक इन्जिनीयर शैलेन्द्र झाले जानकारी दिए । उनका अनुसार छनोट चरणमा प्रशिक्षकहरूको उपस्थिति र सहजीकरण तथा प्रोत्साहनका कारण चरणमा रुचि व्यक्त गर्ने विद्यार्थीको संख्यामा वृद्धि भएको छ । यसकारण आवेदनमार्फत रुचि व्यक्त गर्नेभन्दा बक्सिङ, कबड्डी, खोखो र जुडो खेलमा विद्यार्थीको संख्या वृद्धि भएको महानगरले जनाएको छ ।

झाका अनुसार छानिएका विद्यार्थीमध्ये हिउँदे बिदाका समयमा १ हप्ताको विशेष प्रशिक्षण प्रदान गरिनेछ । १ हप्ताको प्रशिक्षणपछि खेल्ने अवसर दिएर दोस्रो चरणको छनोट हुनेछ । यस चरणबाट छानिएका विद्यार्थीलाई विशेष निगरानी सहितको नियमित प्रशिक्षण प्रदान गरिनेछ । यसबाट प्रतिस्पर्धाका लागि खेलाडी तयार हुनेछन् ।

शहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार प्रारम्भिक चरणबाट अगाडि ल्याउन नसकिएका विद्यार्थीहरूको तथ्यांक राखिएको छ । उनीहरूलाई प्रशिक्षणपश्चात् अर्को प्रतियोगिताका लागि तयार गरिनेछ । छानिएका खेलाडीहरूलाई राष्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण दिइनेछ ।

पोखरेलका अनुसार आवेदनमार्फत रुचि राख्ने क्रममा सबैभन्दा धेरै फूटबल खेलमा, दोस्रोमा ब्याटमिन्टन, तेस्रोमा भलिबल, चौथोमा र पाँचौंमा तेक्वान्दो खेलमा रुचि देखाएका थिए । यसरी रुचि देखाउनेमध्ये फूटबल खेलमा १ हजार २०२ जना विद्यार्थी छानिएका छन् । खेलमा सहभागी हुन २ हजार ३८ जना विद्यार्थीले इच्छा व्यक्त गरेका थिए । छानिएकामध्ये ४–८ कक्षाका ७२२ जना, १० कक्षाका ६६ जना र ९, ११ र १२ कक्षाका ४१४ जना विद्यार्थी छन् ।

कात्तिकदेखि मंसिर महिनाको पहिलो हप्तासम्म १८ वटा केन्द्रमा विद्यार्थीलाई भेला गरेर छनोट गरिएको थियो । ३ महिनाभर जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ । जुनियरमा ४ देखि ८ कक्षासम्मका विद्यार्थीलाई र सिनियरमा ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई सहभागी गराइनेछ । १० कक्षाका विद्यार्थीलाई खेलभन्दा एसईईको तयारीमा प्रोत्साहन गरिनेछ ।

खेलका तालिम चलाउन नियमित कक्षा अगाडि, पछाडि, बिदाका दिन तथा लामो छुट्टिको अवधिलाई उपयोग गरिनेछ । यसपछि माघको अन्तिम सातातिर संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच प्रतियोगिता आयोजना गरिनेछ ।

प्रतियोगितालाई अन्तरराष्ट्रिय मापन पद्धतिअनुसार सञ्चालन गरिनेछ । यसमा हार र जीतभन्दा पनि खेल क्षेत्रको प्रवर्द्धनका मानकहरूलाई नतिजा प्राप्तिको सूचक बनाइनेछ ।

खेलका लागि शहरी योजना आयोगका सदस्य इन्जिनीयर शैलेन्द्र झाको अध्यक्षतामा ९ सदस्यीय निर्देशक समिति गठन भइसकेको छ ।