काठमाण्डु – ३ पुसमा चन्द्रागिरि नगरपालिका – १० सतुंगल खरिबोटस्थित आफ्नै कोठाभित्र मृत भेटिएकी धादिङको गजुरी गाउँपालिका –४ की १७ वर्षीया सरिता तामाङको मोवाइल बोकेर हिड्ने विश्वास तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
सरिताको हत्या आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका – १४ खड्कागाउँस्थित कोठाबाट धादिङको गजुरी गाउँपालिका –३ का २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरेको हो ।
काठमाण्डु प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले विश्वासको साथमा सरिताले बोक्ने गरेको रियलमी मोबाइल बरामद भएको जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंसिर २९ गते रातिदेखि सम्पर्कविहीन सरिता खोजतलासका क्रममा पुस ३ गते सतुंगल खरिबोटस्थित आफ्नै डेराकोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन्।
सरिताका दाइ नवीन रुम्बा तामाङले पुस १ गते दिउँसो सरिताको हुलियासहित प्रहरी वृत्त थानकोटमा निवेदन दिएपछि खोजी थालेको प्रहरीले सतुंगल खरिबोटस्थित वीरेन्द्र श्रेष्ठको घरको भुइँतलामा डेरा गरी बस्ने सरिता उनकै लो बेडमुनि मृत भेटाएको थियो । सरिता नैकापस्थित विष्णुदेवी शिक्षा सदनमा कक्षा १० मा पढ्थिन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले खटिएको अनुसन्धान टोलीले घटनास्थलको अध्ययन, विश्लेषण तथा विभिन्न प्रविधिको प्रयोग गरी घटनामा संलग्न व्यक्तिलाई खोजतलास गर्ने क्रममा विश्वासलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया