रवि लामिछानेविरुद्ध आज मुद्दा दायर गरिने

रवि लामिछानेविरुद्ध आज मुद्दा दायर गरिने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आज मुद्दा दर्ता गरिँदैछ ।

कास्की जिल्ला अदालतकी न्यायाधिवक्ता कमला काफ्लेले रविसहितविरुद्ध आज मुद्दा दर्ता गरिने जानकारी दिइन् । शनिबार सार्वजनिक बिदा हुने भएकाले सकेसम्म आजै वा आइतबार अदालतमा मुद्दा दर्ता गरिने छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।

लामिछाने पक्राउ परेकै प्रकरणमा पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा उनका व्यावसायिक साझेदार छविलाल जोशी पक्राउ परेको आज ९० दिन पूरा हुँदै छ । जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अभियुक्त पक्राउ परेको ९० दिनभित्र अदालतमा दर्ता गराइसक्नुपर्ने कानुनी व्यवस्था छ । अभियुक्तलाई ९० दिनभन्दा बढी हिरासतमा राख्न पाइँदैन ।

पछिल्लोपटक पुस २ गते जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उक्त म्याद आजै राति १२ बजे सकिँदै छ ।