आजदेखि ‘बम बहादुर’ देशभर प्रदर्शनमा

आजदेखि ‘बम बहादुर’ देशभर प्रदर्शनमा


काठमाण्डु- सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको छ ।

भारतको दार्जिलिङ र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपालीको ऐतिहासिक संघर्ष र जीवनका पलहरूलाई चलचित्रको पर्दामा उतारिएको छ ।

१९८० को दशक अर्थात् करिब ३८ वर्षअघि भएका घटनामा आधारित यो चलचित्रले त्यति बेलाको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतीय नेपाली समुदायको संघर्षलाई सजीव रूपमा प्रस्तुत गरेको छ ।

निर्देशक जोन राईका अनुसार यो चलचित्र भारतका नेपाली समुदायको इतिहासलाई डिजिटल दस्तावेजका रूपमा संरक्षित गर्ने उद्देश्यले निर्माण गरिएको हो ।

बिस्ट ब्रदर्स फिल्म्स प्रालिद्वारा निर्मित ‘बम बहादुर’का निर्माता सञ्जीव सार्कीले आज र भोलिका पुस्ताले आफ्नो इतिहास बिर्सिन नहुने उद्देश्यले चलचित्र बनाइएको बताए ।

चलचित्रमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पञ्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री र धीरज चाम्लिङलगायतको अभिनय छ ।

चलचित्रको कथा र पटकथा जोन राई र रुपेश तामाङले लेखेका हुन् । छायांकन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङको छ । दीपङ्कर सिंह मुखियाको संगीत र गीत रहेको यो चलचित्रको म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले तयार पारेका छन् ।

चलचित्रका लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन् । वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् । पोस्ट प्रोडक्सन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो ।