काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनयुद्ध शब्द प्रयोग गर्न सर्वोच्च अदालतले रोक लगाउनु लोकतन्त्रको उपहास भएको बताएका छन्।
सामाजिक सन्जाल फेसबुकमा शर्माले लेखेका छन्, ‘प्रतिबन्ध त लोकतन्त्रको उपहास हो । जनयुद्ध तिमी प्रतिबन्धित भएछौ ।’
सर्वोच्च अदालतको पूर्ण इजलाशले विहीबार सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न आदेश दिएको थियो । अधिवक्ता ज्ञानेन्द्रराज आरणले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले ‘जनयुद्ध’ शब्द खारेज गरी ‘सशस्त्र संघर्ष वा सशस्त्र द्वन्द्व’ राख्ने व्यवस्था मिलाउन आदेश दिएको हो ।
संघीय सरकार र मधेश सरकारको बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द प्रयोग भएपछि रिट दायर गरेका थिए ।
सर्वोच्चको त्यो आदेशप्रति टिप्पणी गर्दै पूर्वमन्त्री शर्माले फेसबुकमा लेखेका छन्, ‘तिमी प्रतिबन्ध भएको सुनेँ, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिडीमा सडाउन चाहन्छन् । धारालाई तिम्रो प्रतिकूल बनाउनमा आफ्नै आत्मबलको कमी भएको महसुस गरेको छु ।’
प्रतिक्रिया