काठमाण्डु – नेपाली कांग्रेसका क्रियाशील सदस्यता वितरणमा विवाद देखिएपछि केन्द्रले हस्तक्षेप गरेको छ । पार्टी महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिले सदस्यता वितरणमा कहाँ कहाँ समस्या देखिएको छ, र समाधानका लागि के गर्ने भनेर तीन केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिएको छ ।
प्रदेशगत अवस्था बुझेर विवरण पेस गर्न केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सिता गुरुङ र प्रकाश रसायली स्नेहीलाई जिम्मेवारी दिइएको हो ।
गुरूलाई बागमती र गण्डकी, रसायलीलाई मधेश र र लुम्बिनी तथा चौधरीलाई कोशी कर्णाली र सुदूरपश्चिमको अवस्था बुझ्ने जिम्मेवारी सदस्यता व्यवस्थापन समितिले दिएको छ । उनीहरूले सदस्यता वितरणको समस्या पहिल्याएर समितिमा प्रतिवेदन पेस गर्नेछन्, त्यसपछि समितिले समाधानको उपाय खोज्नेछ ।
कांग्रेसमा जिल्ला वा प्रदेश सभापतिले सदस्यताका फर्महरु तल नपठाएर नयाँ र नवीकरणको काम रोकिएको छ । पार्टीभित्रको गुटका कारणले सदस्यता वितरण र नवीकरण रोकिएको देखिन्छ ।
कात्तिकमा गठन भएको महामन्त्री थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यताको विवाद र समस्या मुख्य गरी मधेसमा रहेको औल्याएको छ ।
लामो समयसम्म तल्लो तहबाट क्रियाशील सदस्यताको टुंगो लाग्न नसकेपछि महामन्त्री गगन थापा संयोजकत्वको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले १८ पुसभित्र सदस्यताको टुंगो लगाउन निर्देशन दिएको थियो ।
समिति सदस्य समेत रहेका केन्दूीय सदस्य रसाइलीले सदस्यता वितरणमा दुई दर्जनभन्दा बढी जिल्लामा समस्या देखिएको छ । क्रियाशील सदस्यताको विषयलाई लामो समयसम्म अल्झाएर नराखी विधानको व्यवस्थाअनुसार केन्द्रबाटै हस्तक्षेप गरेर भए पनि समस्या समाधान गरेर जानुपर्ने निचोड थापा नेतृत्वको समितिले निकालेको छ ।
अहिलेसम्म डोल्पा, बारा र मुस्ताङबाहेकका जिल्लाका सभापतिहरूले क्रियाशील सदस्यता वितरणका लागि नवीकरण फारम लगिसकेका छन् ।
गत १६ भदौमा सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले सदस्यता वितरणलाई सहज बनाउन नियमावलीका तीन बुँदामा संशोधनसमेत गरेको थियो । संशोधित व्यवस्थाले सदस्यता वितरणमा तल्लो तहबाट ढिलाइ भएमा केन्द्रमा रहेका सदस्यता व्यवस्थापन समितिसँग समन्वय गरी केन्द्रीय कार्यालयले सदस्यता प्रक्रिया सहज र छिटो–छरितो बनाउन सक्ने व्यवस्था गरिएको छ । यही व्यवस्थालाई टेकेर फास्ट ट्रयाकमा सदस्यताको टुंगो लगाउन लागिएको हो ।
१४ औं महाधिवेशनमा कांग्रेसका आठ लाख ५२ हजार ७१२ जना क्रियाशील सदस्य थिए ।
प्रतिक्रिया