काठमाण्डु – नेपाली कांग्रेसको आन्तरिक पार्टी राजनीतिमा महाधिवेशनको चर्चा सुरु भइसकेको छ । १४औं महाधिवेशनमा सभापति पदमा पराजित नेता डा. शेखर कोइरालाले शुक्रबार सुदूरपश्चिमको धनगढीबाट कार्यकर्ता भेटघाट थालेका छन् ।
पार्टी महाधिवेशनलक्षित क्रियाशील सदस्यता वितरण कार्य कुनै पनि तहमा नरोक्न केन्द्रले निर्देशन दिएको छ । डा. कोइरालाले धनगढीमा आयोजित कार्यक्रममा आफू सभापतिको उम्मेदवार रहेको घोषणा गरिसकेका छन् ।
संस्थापनइतर समूहका नेता कोइरालाले महाधिवेशनको तयारी थालिसक्दा संस्थापन पक्षलाई भने महाधिवेशन लागेको छैन । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने बेला नभएको बताए ।
काठमाण्डुपाटीसँगको कुराकानीमा उनले महाधिवेशनको समय १ वर्ष थप्ने सामान्य परिपाटी पार्टीमा रहेको स्मरण गरे । उनले महाधिवेशनबाट विधान संशोधन भएर सभापति देउवा पुनः पार्टी नेतृत्वमा आउनसक्ने संकेत पनि गरे । प्रवक्ता महतसँग गरिएको कुराकानीको सम्पादित अंशः–
कांग्रेस महाधिवेशन केन्द्रित भएको हो ?
– केही व्यक्ति र नेताहरूलाई नेता बन्छु भन्ने लागेको हो । महाधिवेशनपछि पद पाइन्छ भन्ने सोचका साथ कोही–कोही आजैबाट महाधिवेशनमा लागेका हुन् तर महाधिवेशनको माहोल अहिले बनिसकेको छैन ।
महाधिवेशन आउन अहिले पनि १ वर्ष बाँकी छ । १ वर्ष कार्यकाल थप गर्ने प्रावधान विधानमा छ । यसकारण १ वर्षको कार्यकाल सहजै थप्ने प्रचलन छ । ज–जसलाई नेतृत्वमा जान हतार छ, म नै नेतृत्वमा जानुपर्छ भन्ने लागेको छ, उनीहरूलाई महाधिवेशन लागेको हो । वास्तवमा महाधिवेशनको प्रक्रिया अहिले सुरु नै भएको छैन ।
त्यसो भए महाधिवेशनको प्रक्रिया कहिले सुरु हुन्छ ?
– महाधिशवेनको प्रक्रिया सुरु गर्न कार्यतालिका बनेको छैन । सक्रिय सदस्यताको वितरण महाधिवेशन प्रक्रियाको पहिलो शर्त हो । वडादेखि प्रदेशसम्म अधिवेशन सम्पन्न गर्नुपर्छ, क्रियाशील सदस्यता वितरण पूरा गर्नुपर्छ ।
त्यो भए महाधिवेशन २०८२ मंसिरमै हुन्छ कि १ वर्ष म्याद थप हुन्छ ?
– १ वर्षको म्याद थप गर्नु सामान्य प्रचलन बनेको छ । यसअघि पनि धेरैपटक म्याद थप भएको हो तर यसपटक पनि म्याद थप हुन्छ भन्न सकिँदैन ।
सभापतिले म्याद थप आवश्यक छैन र ४ वर्षमै महाधिवेशन गर्ने भन्नुभयो र पार्टीभित्र पनि सबैको यस्तै राय आयो भने म्याद थप नभइकन अर्को वर्ष महाधिवेशन तय समयमै हुन्छ तर ४ वर्षभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी भने तयारी अगाडि बढेको छैन ।
१ वर्षको म्याद त विशेष परिस्थितिमा थपिने होइन र ?
– अहिले पनि त विशेष अवस्था नै छ । महाधिवेशनको तयारी गर्नु पनि विशेष अवस्था नै हो । आमनिर्वाचन पनि आउँदैछ । पार्टीले त्यतातिर पनि ध्यान दिनुपर्छ ।
तपाईंले यसो भनिरहँदा २०८२ मंसिरमा महाधिवेशन नहुने भन्ने देखिन्छ । पार्टीको अर्को पक्षलाई पनि शंका लागेको छ ?
– महाधिवेशन नहुने कुरामा शंका गर्नु बेकार हो । यद्यपि सबैको आ–आफ्नै धारणा र टिप्पणी हुन्छ । कसैलाई आजै महाधिवेशन भइदिओस् पनि लागेको होला ।
महाधिवेशनका लागि तपाईं पनि नेतृत्वको दौडमा हुनुहुन्छ ?
– नेतृत्वमा जाने वा नजाने अहिले सोचेको छैन । जोजसले म हुन्छु भन्दै हिँडेका छन् र आफूलाई उम्मेदवार प्रस्तुत गरिरहेका छन्, त्यसमा मैले आफूलाई कोहीभन्दा कम ठानेको छैन तर मलाई अहिले नै घोषणा गर्ने हतार छैन । नेतृत्वमा जाने वा नजाने भनेर अहिले भनिहाल्ने समय पनि परिपक्व भइसकेको छैन । म हुन्छु भनेर हिँडको छैन, समय आएपछि भनौंला तर अहिले जो जसले महाधिवेनमा लड्ने भन्दै आइरहेका छन्, उनीहरूभन्दा म आफूलाई कमजोर मानेको छैन ।
म कुनै पनि हिसाबले कसैभन्दा कम छैन । पार्टीमा मैले गरेको योगदानका कारण मैले आकांक्षा राख्नु गलत होइन ।
विधानतः सभापति पार्टीको नेतृत्वमा आउने सम्भावना छैन, त्यसपछि पार्टी नेतृत्वमा कसलाई देख्नुहुन्छ ?
– महाधिवेशनमा विधान पनि संशोधन हुनसक्छ तर विधान संशोेधन कार्यकाल थपका लागि नभई अन्य विषयमा पनि केन्द्रित रहनेछ । विधान संशोधन गरौं भन्ने छलफल पनि पार्टीभित्र चलेको छ ।
सभापतिको ४ वर्षे कार्यकाल अर्को वर्ष सकिन्छ । यदि विधान संशोधन भयो र २ वर्ष लगातार नेतृत्व गरेको व्यक्ति तेस्रो कार्यकालमा आउने प्रावधान राखियो भने निश्चित रूपमा देउवा नै पुनः नेतृत्वमा आउन सक्छन् । कार्यकाल संशोधनको प्रावधान जोसुकैले पनि महाधिवेशनमा राख्न पाउँछन् तर सभापतिले अहिले नै विधान संशोधन या १ वर्षको म्याद थपबारे केही बोल्नुभएको छैन ।
विधान संशोधन भयो भने सभापतिमा देउवा नै आउने बाटो खुल्छ कि ?
– विधान संशोधन धेरै विषयमा हुनसक्छ तर पदावधि बढाउने वा नबढाउने विषयमा महाधिवेशन हलले तय गर्छ तर सभापतिले विशान संशोधन गरेर तेस्रो कार्यकालमा फेरि आउन चाहेको भन्ने विचार प्रकट गर्नुभएको छैन ।
अब पार्टीको नेतृत्व कस्तो हुनुपर्छ ?
– अबको नेतृत्व सशक्त हुनुपर्छ । क्षमतावान, खट्ने र सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका व्यक्ति नेतृत्वमा आउनुपर्छ ।
प्रतिक्रिया