काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । यी दुई टिमबीचको उपाधि भिडन्त कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्याह्न १२ बजेदेखि सुरु हुनेछ ।
दुवै टिमको दाउ पहिलो संस्करणको एनपीएलको ऐतिहासिक ट्रफी जित्नेमा हुनेछ । सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्समाथि ह्याटिक जित दर्ता गर्दै उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रिनेछ । उता जनकपुर बोल्ट्स भने सुदूरपश्चिम रोयल्ससँग लगातार दुई खेलमा ब्यहोरेको हारको बदला लिँदै ट्रफी आफ्नो पोल्टामा पार्ने दाउमा हुनेछ ।
फाइनलअघि शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनलका लागि तयार भएको र यसअघिका खेलमा देखिएका गल्तीलाई सुधारेर खेल्ने बताए ।
यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले लिग र पहिलो क्वालिफायरमा जनकपुरलाई दुई पटक हराएको भए पनि फाइनलमा हल्का रूपले नलिने बताए ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । जनकपुर बोल्ट्सले भने दोस्रो क्वालिफायरमा कर्णाली याक्समाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै सुदूरपश्चिम रोयल्ससँगको उपाधि भिडन्त पक्का गरेको थियो ।
प्रतिक्रिया