परराष्ट्रमन्त्री राणाको भारत भ्रमण : प्रधानमन्त्री र विदेशमन्त्री दुवैसंग भएन भेटवार्ता

परराष्ट्रमन्त्री राणाको भारत भ्रमण : प्रधानमन्त्री र विदेशमन्त्री दुवैसंग भएन भेटवार्ता


काठमाण्डु– परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाको भारतमा उच्चस्तरिय भेटवार्ता नहुने भएको छ । भारत नेपाल आर्थिक सम्मेलनमा सहभागी हुन दिल्ली पुगेकी राणाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एस.जयशंकरसंग समेत भेटवार्ता नहुने निश्चित भएको हो ।

नेपाली दूतावासका अधिकारीहरुले भने भारतीय प्रधानमन्त्रीसंग भेटवार्ताको लागि प्रयास नै नभएको दावी गरेका छन् । तर, परराष्ट्रमन्त्री राणाको विदेशमन्त्री जयशंकरसंग भने भेटवार्ताको लागि आग्रह भएपनि अन्तिममा सकरात्मक जवाफ नआएको स्रोतले दावी गरेको छ ।

भारती प्रधानमन्त्री मोदी र विदेशमन्त्री जयशंकर शनिवार विहानै कुवेत प्रस्थान गरिसकेका छन् । भारतीय प्रधानमन्त्री मोदीको आइतबार १ बजे भारत फर्कने कार्यक्रम छ । विदेशमन्त्री जयशंकर अमेरिका भ्रमणमा जानेमा छन् ।

परराष्ट्रमन्त्री राणा भने उपचारको लागि भन्दै सोमबार बिहानसम्म दिल्लीमा नै रहने कार्यक्रम छ । राणाको एक साता दिल्ली वसाईमा समेत राजनीतिक तहमा उच्चस्तरिय भेटवार्ता नहुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका लागि दिल्ली गएको बताइएको थियो । तर, राणाले दिल्लीमा उच्चस्तरिय भेटवार्ता नपाएपछि भ्रमण तत्काल नहुने सम्भावना बढेको छ । यसअघि परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जांदा प्रधानमन्त्री मोदी र विदेशमन्त्री जयशंकरसंग भेटवार्ता भएको थियो ।

राणा सोमबार नेपाल एयरलाइन्स हुंदै काठमाण्डौंमा फर्कनेमा छिन् । त्यसअघि राजनीतिक तहमा भेटवार्ता हुन सक्ने उनि निकट स्रोतले दावी गरेको छ ।