काठमाण्डु-भारतीय अभिनेता जोन अब्राहमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन् ।
चितवनमा पुस ११ देखि १५ गतेसम्म हुन लागेको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवका सन्दर्भमा वलिउड नेता अब्राहमले पर्यटनमन्त्री पाण्डेलाई पत्र लेखेका हुन् । पत्रमा उनले महोत्सवमा हात्ती प्रयोग नगर्न आग्रह गरेका छन् ।
महोत्सवका नाममा हात्तीलाई दुर्व्यवहार र पीडा दिने काम हुने भएकाले त्यसलाई रोक्न उनले मन्त्री पाण्डेलाई अनुरोध गरेको भारतीय अंग्रेजी पत्रिका इन्डिया टुडेले उल्लेख गरेको छ ।
‘महोत्सवका क्रममा हात्तीलाई कुटपिट गर्ने, दौडिन बाध्य पार्ने, पर्यटकको सवारी तथा पोलो र फुटबल खेल्न प्रयोग गर्नेजस्ता कार्य हुने भएकाले जनावरको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्छ’, पत्रमा भनिएको छ ।
‘यी बुद्धिमान र संवेदनशील जनावरले खेलका क्रममा शारीरिक र भावनात्मक पीडा भोग्नुपर्छ’, अब्राहमले लेखेका छन्, ‘जसले प्राकृतिक वासस्थानमा हात्तीहरूको सुन्दरता देखेका छन्, ती सबैलाई थाहा छ–हात्ती शक्ति र बुद्धिको प्रतीक मात्र नभई राष्ट्रिय सम्पदासमेत हुन् ।’
नेपालसँग सबै जीवित प्राणीप्रति दया र सम्मानको मूल्य स्थापित गर्दै साझा भविष्यतर्फ अगाडि बढ्ने अवसर रहको पनि उनले पत्रमा लेखेका छन् ।
नेपाल आफ्नो हृदयमा रहेको उल्लेख गर्दै अब्राहमले नेपालमा पाइने सबै वन्यजन्तुप्रतिको माया र प्राकृतिक सौन्दर्यको संरक्षणबाट सुनिश्चित हुने आशा व्यक्त गरेका छन् ।
प्रतिक्रिया