काठमाण्डु– गत मंसिर १५ गतेदेखि सुरुभएको क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आज बाट सकिएको छ । जनकपुर बोल्टसले सुदूरपश्चिम रोयल्सलाइ हराएर उपाधि हात पारेसँगै यो सिजनको एनपीएल सकिएको छ ।
७ वटा फ्रेन्चाइज टिमलाई पछार्दै जनकपुरले ट्रफी र १ करोड १० लाख रुपैयाँ हात पार्यो भने दोस्रो भएको सुदूरपश्चिमले ५० लाख पुरस्कार पायो ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा पहिलो पटक आयोजना गरेको यस सिरिज सुरुवात देखिनै चर्चामा रह्यो । चर्चाको एक कारण थियो विदेशका प्रसिद्ध क्रिकेटरहरुलाई फ्रेन्चाइज टिममा आवद्ध गराउनु । एनपीएलमा १६ देशका ४१ विदेशी खेलाडीले ८ फ्रेन्चाइज टिमबाट खेलेका थिए ।
कर्णाली याक्सबाट विश्व चर्चित भारतीय क्रिकेटर शिखर धवनले ४ खेल खेलेका थिए । धवनबाहेक पाकिस्तानका मोहम्मद हुसैन तलात, वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका चादविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका बाबर हायात र ओमानका जिसान मक्सुदले खेलेका थिए ।
यस्तै जनकपुर बोल्ट्सबाट न्युजिल्यान्डका जेम्स डुग्लास निसम, अमेरिकाका जोसुवा ट्रोम्प र मोहम्मद मोहसिन, पाकिस्तानका सोहाइव मक्सुद र वेस्ट इन्डिजका टिअन वेबस्टरले एनपीएल खेलेका थिए भने चितवन राइनोजबाट दक्षिण अफ्रिकाका मार्चन्ट डी लिन्गे, इंग्ल्यान्डका लक बेन्केन्स्टेइन, रवि बोपरा, अफगानिस्तानका हसन इसाखिल र नामिबियाका जान निकोल लोफ्टिइटनले खेलेका थिए ।
यता विराटनगरबाट न्युजिल्यान्डका मार्टिन गुप्टिल, क्यानडाका निकोलस किर्टन, ओमानका अकिब इल्यास, क्रिस्टोफर सोले र अफगानिस्तानका इस्मत अलामले खेलेका थिए ।
नामिबियाका कप्तान गेरहार्ड इरास्मस, नेदरल्यान्ड्सका माइकल लेटिभ, न्युजिल्यान्डका स्टेफन इस्किनाजी तथा इंग्ल्यान्डका डान डोउथवेइट र नाथन सोवटेरले काठमाण्डु गुर्खाजबाट खेल्दा अस्ट्रेलियाका स्टार अलराउन्डर बेन कटिङ, क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफर, इंग्ल्यान्डका टम मुर्स, भारतका लागि यु–१९ विश्वकप जिताएर हाल अमेरिकाबाट खेलिरहेका उन्मुक्त चन्द र वेस्ट इन्डिजका रामोन सिमन्ड्सले लुम्बिनी लायन्समा आवद्ध रहेर खेलेका थिए ।
सुदूरपश्चिम रोयल्सबाट स्कटल्यान्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलन, यूएईका अलराउन्डर रोहन मुस्ताफा, न्युजिल्यान्डका पेस बलर स्कट कुगलेइन र इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर सैफ अली जैबले खेलेका थिए भने पोखराबाट इंग्ल्यान्डका अलराउन्डर म्याट क्रिचली, वेस्ट इन्डिजबाट टेस्ट खेलेका रोयमन रेइफर, अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका युवा ब्याटर बास डी लिडे र स्कटल्यान्डका माइकल लेअस्कले खेलेका थिए ।
पहिलो संस्करणको एनपीएलमा विदेशी खेलाडीहरुको उत्कृष्ट्र प्रदर्शन रह्यो । नेपालका चलेका र विदेशी टिमहरुसँग खेलिसकेका क्रिकेटरहरुको राम्रो प्रदर्शन देख्न सकिएन । मार्की तोकिएका नम्वर वान ठानिएका खेलाडीहरु फर्ममा देखिएनन् । सुदूरपश्चिमका दिपेन्द्र ऐरी र जनकपुरका अनिल कुमार शाहबाहेक अरु मार्की खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । एक खेलमा उत्कृष्ट प्रदर्शन गरेका लुम्बिनीका रोहित पौडेलले पनि सिरिजमा आफूलाइ जमाउन सकेनन् ।
यता पोखराका कुशल भुर्तेलको प्रदर्शन खराव देखिदा काठमान्डुका करण केसिले मध्यम प्रदर्शन गरे । विराटनगरका सन्दिप लामिछाने पनि नचल्दा कर्णालीका सोमपाल कामीको पनि राम्रो प्रदर्शन मान्न सकिएन । उत्कृष्ट ब्याट्सम्यान मानिएका चितवनका कुशल मल्लले पनि राम्रो छाप छोड्न सकेनन् ।
यस्तैमा एनपीएलको म्यान अफ द म्याचको पुरस्कार धेरै विदेशी खेलाडीले लगेका छन् ।
एनपीएलका म्यान अफ द म्याच बनेका विदेशि खेलाडी
१. एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था ‘प्लेयर अफ द म्याच’ बने । उनले विराटनगर किंग्सविरुद्ध ७५ रन जोडेका थिए । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए ।
२. एनपीएलको दोस्रो खेलमा चितवन राइनोजका बलर सोहेल तानबिर ‘प्लेयर अफ द म्याच’ बने । काठमाडौं गुर्खाजविरुद्ध ५ विकेट लिएका उनले ५० हजार रुपैयाँ पुरस्कार पाए ।
३. एनपीएलको आठऔं खेलमा पोखरा एभेन्जर्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सका जिम्मी निशम ‘प्लेयर अफ द म्याच’ घोषित भए । पोखराविरुद्ध ५ छक्कासहित ४० रन जोडेका उनले ५० हजार पुरस्कार पाए । उक्त खेलमा लाहिरु मिलन्थाले ‘सुपर फोर’ जित्दै २५ हजार रुपैयाँ पाए ।
४. ११ औं खेलमा पोखराबाट खेलेका एन्ड्रिज गौस ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनी एनपीएलमा पहिलो सतक हान्ने खेलाडी पनि हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
५. १२ औं खेलमा लुम्बिनीविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर सैफ जैब ‘प्लेयर अफ द म्याच’ घोषित भए । साथै, उनले सुपर फोरको अवार्ड पनि जिते । उनले ८० हजार लगे ।
६. १३औं खेलमा कर्णाली याक्सका विलियम बोसिस्टो ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले विराटनगर किंग्सविरुद्ध ६६ रन बनाएर १ विकेट लिएका थिए । उनले ५० हजार र सुपर फोर घोषित हुँदै २५ हजार प्राप्त गरे ।
७.१४औं खेलमा जनकपुर बोल्ट्सका बलर हर्ष थाकेर ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले लुम्बिनी लायन्सविरुद्ध ५ विकेट लिएर ५० हजार पुरस्कार लगे ।
८. १५औं खेलमा चितवन राइनोजका ओपनर हसन इसाखिल ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले सुदूरपश्चिमविरुद्ध ६५ रन बनाएर ५० हजार पुरस्कार लगे । यस्तै उनले सुपर फोरको अवार्ड मार्फत २५ हजार र ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरे ।
९.१७औं खेलको प्लेयर अफ द म्याच विलियम बोसिस्टो प्राप्त गरे । उनी दोस्रोपटक ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले पोखराविरुद्ध ६ विकेट लिएका थिए । सोहि खेलमा कर्णालीका च्याडविक वाल्टनले ‘म्याक्स फोर’ को अवार्ड जिते ।
१०. २२औं खेलमा तेस्रो पटक प्लेयर अफ द म्याचको अवार्ड विलियम बोसिस्टोले नै लगे । उनले ५० हजार पुरस्कार लगे । लुम्बिनीविरुद्ध ४४ रनको योगदान गर्नुको साथ १ विकेट लिएका बोसिस्टोले सो अवार्ड पाए ।
११. २४औं खेलमा काठमान्डु गुर्खाजका स्टिफन एस्किनाजी ‘प्लेयर अफ द म्याच’ घोषित भए । पोखराविरुद्ध ६० रन जोडेका उनले ५० हजार पुरस्कार लगे भने ‘सुपर फोर’को २५ हजार पनि उनैले लगे ।
१२. २७औं खेलमा सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइन‘प्लेयर अफ द म्याच’ घोषित भए ।पोखरालाई पराजित गर्न ५ विकेट लिएका स्कटले ५० हजार आफ्नो नाममा पारे ।
१३. एलिमिनेटर खेलमा कर्णाली याक्सका चाडविक वाल्टन ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले चितवनविरुद्ध २३ बलमा ४६ रन बनाएर उक्त पुरस्कारबापत ५० हजार पाए ।
१४. दोस्रो क्वालिफायरमा कर्णालीलाई पराजित गर्न ४५ रन र २ विकेट लिएका जनकपुर बोल्ट्सका जेम्स निशम ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले ५० हजार पुरस्कार पाए ।
१५. एनपीएलको फाइनल खेलमा जनकपुरका लाहिरु मिलान्थाले ‘प्लेयर अफ द म्याच’को उपाधि जितेका छन् । उनले सूदुरपश्चिम विरुद्धको खेलमा ४९ बलमा ८७ रन हानेका थिए । उनले ५० हजार र सुपर फोर विजेता बन्दै २५ हजार प्राप्त गरे ।
प्रतिक्रिया