काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वी पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् ।
२ दिने भ्रमणको क्रममा उनले धनकुटास्थित श्री भीमदल गण, झापास्थित श्री अरिदमन गण, पाँचथरस्थित श्री रणशेर गण र ओखलढुंगास्थित श्री दुर्गाबक्स गणको निरीक्षण गरे ।
निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिई आवश्यक निर्देशन दिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले श्री नम्बर १८ बाहिनी अड्डा तथा अन्तर्गतका फौजहरू सम्मिलित भई उदयपुरस्थित त्रियुगा इलाकामा सञ्चालन भइरहेको सामूहिक तालिमको निरीक्षण गरेका थिए । निरीक्षणकै दौरान उनले सामूहिक तालिमको विविध पक्षहरूबारे जानकारी लिएका थिए ।
हाल नेपाली सेनाका युनिटहरूको आ–आफ्नो जिम्मेवारी ईलाकाहरूमा सामूहिक तालिम सञ्चालन भइरहेको निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया