काठमाण्डु – स्थानीय तह उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरू पराजित हुनुको कारणबारे समीक्षा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समिति गठन गरेको छ ।
राप्रपाको शनिवार बसेको कार्यसम्पादन समिति बैठकले स्थानीय तहको उपनिर्वाचनमा भएको कमजोरी र त्यसको प्रभावबारे अध्ययन गर्न संगठन विभागका प्रमुख तथा वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रमबहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य छन् ।
बैठकमा मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनबारे गम्भीर समीक्षा भएको जनाइएको छ ।
‘हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको राप्रपाले गम्भीरतापूर्वक समीक्षा गरेको छ । निर्वाचनको परिणाम राप्रपाको पक्षमा हुन नसके पनि अधिकांश स्थानमा मतमा सुधार भएको छ,’ राप्रपाको निर्णयमा भनिएको छ, ‘यद्यपि परिणाम विजयका लागि पर्याप्त हुन सकेन । प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार गर्ने, पार्टी निर्माणको अवसरको रूपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउने निर्णय गरिएको छ ।’
प्रतिक्रिया