लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसुरमा मुद्दा दर्ता

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसुरमा मुद्दा दर्ता


काठमाण्डु – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा मुद्दा दर्ता भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण पेस गरेपछि अदालतमा मुद्दा दर्ता भएको हो ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले अदालत खुल्ने वित्तिकै अभियोग पत्र पेस गरिएको र अदालतले अध्ययन गरेर दर्ता गरेको जानकारी दिइन् ।

सहकारी ठगीको आरोपमा २ कात्तिकमा काठमाण्डुबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा रविसहित जीवी राई लगायतलाई करिब एक अर्ब विगो मागदावी गर्नुपर्ने राय छ ।

संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

जिल्ला सहकारी वकिलको कार्यालय, कास्कीकी प्रमुख काफ्लेले आरोपितहरुमाथि करिव १ अर्ब ५१ करोड रुपैयाँ विगो मागदावी भएको बताइन् ।

उनका अनुसार, एउटा समूहले योजनावद्ध रुपमा सहकारी ठगी गरेको भेटिएकाले सहकारी ठगी, त्यसमा संगठित अपराधको कसुरको अभियोग लगाइएको छ । अनि सहकारी ठगी गरेको रकम अपचलन मार्फत शुद्धीकरण गरेको भन्दै सम्पत्ति शुद्धीकरणको अभियोग समेत छ ।

एक अर्ब ५१ करोड रुपैयाँ विगो मागदावी भएपनि सबै रकमको दायित्व रवि लामिछानेसँग जोडिएको छैन । उनको नाममा प्रवाह भएको ऋण र गोर्खा मिडियामा भएको लगानीमा मात्रै उनी जोडिएकाले उनीमाथिको आरोप त्यसमै सीमित छ ।