काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा पनि आफूले सभापतिको उम्मेदवार बन्ने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले आफू फेरि पार्टी सभापतिमा चुनाव लड्ने र जित्ने बताए ।
१४ औँ महाधिवेशनमा आफ्नो पक्षमा लागेको टिम अहिले पनि दाया–बाँया नभएको कोइरालाले दाबी गरे । महामन्त्री गगन थापा पनि आफूसँगै रहेको उनको दाबी थियो ।
अहिले कांग्रेस महाधिवेशनका लागि जुर्मुराएको बताउँदै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो सम्बनध टाढाको दूरी नभएको बताए । उनले सभापति देउवा सुदूरपश्चिमको मात्र नभइ देशकै आदरणीय व्यक्ति रहेको बताए ।
कोइरालाले वर्तमान सरकार असफल भए देशमा अराजकता निम्तिने पनि बताए । यसर्थ यो सरकारलाई असफल हुने छुट नभएको उनको भनाइ छ ।
जुन म्याण्डेडअनुसार सरकार बनेको हो त्यहीअनुसार अघि बढ्नु पर्ने कोइरालाले स्पष्ट पारे । सरकारले संविधान सुधारका लागि तत्कालै सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढनु पर्नेमा उनले जोड दिए ।
अहिलेसम्म सरकारले संविधान सुधारका बारेमा छलफल नै नगरेको कोइरालाको आरोप छ ।
‘सरकार बनेको पाँच महिना भयो, अब सुधार गर्दै अघि बढ्नु पर्नेछ,’ उनले भने, ‘सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले स्वीकारेकाले अब गतिमा सुधार ल्याउनु पर्छ,’ उनले भने ।
उनले वर्तमान सरकारको मूलभूत एजेण्डा संविधान संशोधन भएपनि त्यसतर्फ ध्यान नगएको बताएका हुन् । कांग्रेस–एमालेले चाहेरमात्रै संविधान संशोधन नहुने बताउँदै उनले अन्य दलसँग पनि छलफल गरिनुपर्ने बताए । ‘यो सरकार गठनको मूलभूत एजेण्डा संविधान संशोधन गर्ने थियो । तर, संविधान सुधारतर्फ सरकारको ध्यान गएको देखिदैन,’, नेता कोइरालाले भने ।
उनले मुलुकको राजनीतिक, आर्थिक, साँस्कृतिक अवस्था एकदम नाजुक रहेको बताए । नेता कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको पनि बताए । उनले कुनै पनि हालतमा सरकार चल्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया