४२ अर्बको डिजेल भित्रिदा ३ अर्बको अलैँची बाहिरीयो

४२ अर्बको डिजेल भित्रिदा ३ अर्बको अलैँची बाहिरीयो


काठमाण्डु– लामो समयसम्म नकारात्मक अवस्थामा देखिएको वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख हुन थालेको छ । भन्सार विभागद्वारा आज सार्वजनिक चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कमा वैदेशिक व्यापारमा सुधार देखिएको हो ।

उक्त तथ्याङ्कअनुसार यो अवधिमा आयात ३ प्रतिशत र निर्यात १६.५ प्रतिशतले बढेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा छ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको वस्तु आयात भएको छ । गत आवको सुरुआती पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन प्रतिशतले बढेको हो ।

गत आवको पहिलो ५ महिनामा नेपालले ६३ अर्ब २० करोड ७४ लाख बराबरको वस्तु निर्यात गरेकामा चालु आवको सोही अवधिमा निर्यात १६.५४ प्रतिशतले बढेर ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार पुगेको छ । आयात, निर्यात बढेसँगै मुलुकको व्यापार घाटा पनि बढेको छ ।

मङ्सिर मसान्तसम्ममा कुल ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार बराबरको वैदेशिक व्यापार हुँदा नेपालले ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख घाटा व्यहोरेको छ । गत आवको पहिलो ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा ४.२१ प्रतिशतले बढेको हो ।

मङ्सिर मसान्तसम्ममा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार बराबरको डिजेल, २६ अर्ब ४५ करोड ४३ लाख बराबरको पेट्रोल र २४ अर्ब २२ करोड ९१ लाख बराबरको एलपी ग्यास आयात भएको छ । त्यस्तै, २० अर्ब ९६ करोड बराबरको फलामजन्य वस्तु र १० अर्ब ३५ करोड ६१ लाख बराबरको स्मार्टफोन आयात भएको छ ।

सबैभन्दा बढी निर्यात भएका वस्तुमा भटमास तेल, कार्पेट, अलैँची, सूर्यमुखी तेल, चियालगायत वस्तु छन् । ५ महिनामा ८ अर्ब ३६ करोड ८५ लाख बराबरको भटमास तेल, ४ अर्ब ९६ करोड ३३ लाख बराबरको कार्पेट, ३ अर्ब ४५ करोड ७२ लाख बराबरको अलैँची, २ अर्ब ९७ करोड ६१ लाख बराबरको सूर्यमुखी तेल र २ अर्ब ७१ करोड २६ लाख बराबरको चिया निर्यात भएको भन्सार विभागद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।