पोखरा – सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि कास्की जिल्ला अदालतमा प्रतिवादी छविलाल जोशीको बयान मंगलबार सकिएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको प्रकरणमा मुद्दा खेपेका पूर्वडीआइजी जोशीको बयान मंगलबार सकिएर लिला पछाईंको बयान सुरु भएको छ ।
जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा छविको बयान सकिएपछि पछाईंको बयान सुरु भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
मंगलबार लिलाको बयान सुरु मात्रै भएको र बुधबार क्रिसमसको सार्वजनिक बिदा परेकाले बिहीबार अदालत खुलेपछि लिलाको बयान निरन्तर हुने र त्यसपछि अन्यको बयान हुने सूचना अधिकारी अधिकारीले जानकारी दिए ।
सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सँग मिलेर रकम अपचलनको अभियोग पछाईंलाई लागेको छ । मंगलबार जिल्ला अदालतमा छवि र पछाईंसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने र नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई अदालत पुर्याइएको थियो ।
सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ बिरामी भएकाले अदालत नल्याइएको जनाइएको छ । सूर्यदर्शन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सबैको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।
प्रतिक्रिया