काठमाण्डु-हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसको प्रभावले हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि वर्षा भने न्यून परेको छ । यद्यपि काठमाडौं उपत्यकालगायत केही स्थानमा गएराति सामान्य वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार खासै वर्षा हुने अवस्था नरहेको तर बदली भएको क्षेत्रको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हल्का वर्षा गराउने सम्भावा छ । बुधवारदेखि भने मौसम सुधार हुँदै जाने पनि उनले बताए । मौसम बिहीबारसम्म खुल्ने र शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको छ । यो बदलीले देशैभरि चिसो भने बढाउनेछ ।
पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
पछिल्लो २४ घण्टामा डडेलधुरामा नौ मिलिमिटर र दिपायलमा चार मिलिमिटर पानी परेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ ।
प्रतिक्रिया