अन्तरिक्षमा नयाँ कीर्तिमान, सूर्यको सबैभन्दा नजिक पुग्यो यान

अन्तरिक्षमा नयाँ कीर्तिमान, सूर्यको सबैभन्दा नजिक पुग्यो यान


काठमाण्डु- नासाको अग्रणी पार्कर सोलार प्रोब (अन्तरिक्षयान)ले इतिहास रचेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाको एउटा अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पुगेर नयाँ कीर्तिमान बनाएको छ ।

यो सानो अन्तरिक्षयानले सूर्यले कसरी काम गर्छ भन्ने अझ राम्ररी बुझ्न सघाउने आशा वैज्ञानिकहरूको छ । यो एक हजार सात सय डिग्री फरेनहाइट (९३० डिग्री सेल्सियस) भन्दा बढीको तातो तापक्रमको सामना गर्दै ताप ढालसहित सूर्यको सबैभन्दा नजिक पुग्ने कुनै पनि अन्तरिक्ष यान बनेको हो ।

यो अन्तरिक्ष याने उडानका क्रममा केही दिन सञ्चारसम्पर्कबाट छुट्टिने छ । वैज्ञानिकहरू उक्त यान सकुशल रहे नरहेको पत्ता लगाउन सङ्केतको प्रतीक्षामा हुने छन् । त्यस्तो सङ्केत सम्भवतः शुक्रवारमा प्राप्त हुने छ ।

सन् २०१८ अगस्टमा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान ताराको वैज्ञानिक बुझाइलाई गहिराइमा बुझ्न र पृथ्वीमा जीवनलाई असर गर्न सक्ने अन्तरिक्ष–मौसम घटनाहरूको पूर्वानुमान गर्न मद्दत गर्ने सात वर्षे मिसन हो । यो ऐतिहासिक उडान अमेरिकी समयअनुसार मंगलवार बिहान ठीक ६ : ५३ बजे (११ : ५३ जीएमटी)मा भएको हो ।

‘यो नासाको साहसी मिसनको एउटा उदाहरण हो, यसले हाम्रो ब्रह्माण्डको बारेमा लामो समयदेखि रहेका प्रश्नहरूको जवाफ दिन पहिले कसैले नगरेको कुरा गरेको छ,’ पार्कर सोलर प्रोब कार्यक्रमका वैज्ञानिक एरिक पोसनरले भने, ‘हामी अन्तरिक्ष यानबाट त्यो पहिलो स्थिति अद्यावधिक प्राप्त गर्न र आउँदो हप्ताहरूमा वैज्ञानिक डाटा प्राप्त गर्न प्रतीक्षा गर्न सक्दैनौँ ।’

उनका अनुसार सूर्यको निश्चित भाग कस्तो छ भनेर थाहा पाउनका लागि पनि त्यहाँ त्यस्तो उडान गर्नैपर्ने हुन्छ । पार्कर यान प्रतिघण्टा करिब चार लाख ३० हजार माइल (६ लाख ९० हजार किलोमिटर)को तीव्र गतिमा अघि बढ्नेछ । यो भनेको अमेरिकाको राजधानी वासिङ्टनबाट टोकियोसम्म एक मिनेटभन्दा कम समयमा पुग्ने गति हो ।

‘कुनै पनि मानव निर्मित वस्तु ताराको यति नजिक कहिल्यै गएको छैन, त्यसैले पार्करले साँच्चै अज्ञात क्षेत्रबाट डाटा फर्काउनेछ,’ मेरिल्यान्डको लरेलस्थित जोन्स हप्किन्स एप्लाइड फिजिक्स लेबोरेटरी (एपीएल)का मिसन अपरेसन म्यानेजर निक पिङ्किनले भने, ‘हामी अन्तरिक्षयान सूर्यको वरिपरि घुमेर फर्किँदा यसबाट सुन्न उत्साहित छौँ ।’

सूर्यको बाह्य मण्डल ‘करोना’मा यो यान उड्दा एउटा पुरानो रहस्यको कारण पत्ता लगाउन सकिने वैज्ञानिकहरूले ठानेका छन् । यो अभियानले वैज्ञानिकहरूलाई सौर्य आँधीबारे पनि थप कुरा बुझ्न सघाउने ठानिएको छ । सौर्य आँधीमा करोनाबाट निरन्तर निस्किने आयनीकृत कणहरू हुन्छन् ।