बंगलादेशले भारतलाई फेरि भन्यो-शेख हसिनालाई फिर्ता गर

बंगलादेशले भारतलाई फेरि भन्यो-शेख हसिनालाई फिर्ता गर


काठमाण्डु- भारतमा शरण लिएकी बंगलादेशकी पूर्वप्रधानन्त्री शख हसिनालाई फिर्ता गर्न बंगलादेशले भारतलाई फेरि आग्रह गरेको छ ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको जनाउँदै सरकारले उनको फिर्ताका लागि भारतलाई पुनः अनुरोध गरेको बीबीसी हिन्दीले जनाएको छ ।

आलमले भने, ‘सरकारले बंगलादेशको कानुन अनुसार हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउन काम गरिरहेको छ ।’

बंगलादेशले भारतसँग शेख हसिनालाई सुपुर्दगी गर्न माग गरेको हो ।

बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तोहेद हुसेनले हालै शेख हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउनुपर्ने बारे भारतलाई कुटनीतिक नोट पठाएका थिए ।

गत अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि ७७ वर्षीया हसिना भागेर भारत पुगेकी थिइन् । भारत पलायन भएसँगै उनको १६ वर्ष लामो शासन अन्त्य भएको थियो । त्यसयता उनी भारतमा निर्वासित जीवन बिताइरहेकी छिन् ।

हप्तौँको विरोध र झडपपछि भएको निर्णायक अन्दोलनले हसिनालाई अपदस्थ गरेको थियो । आन्दोलनमा ६ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । उनी भारत भागेपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ताले यसको पुष्टि गर्दै भने, ‘हामीले बंगलादेशको उच्चायोगबाट सुपुर्दगी अनुरोध प्राप्त गरेका छौँ ।’