आफ्नै पार्टी सहभागी सरकारसँग कांग्रेस नेताहरू असन्तुष्ट

आफ्नै पार्टी सहभागी सरकारसँग कांग्रेस नेताहरू असन्तुष्ट


काठमाण्डु – एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी छ । कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा १० मन्त्री र दुई राज्यमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी भएका छन् ।

तर, कांग्रेस नेताहरू भने ओली नेतृत्वको र आफ्नै पार्टीका नेताहरू सहभागी सरकारको सार्वजनिक मञ्चमै आलोचना गरिरहेका छन् । सरकारको आलोचना गर्नेमा संस्थापन र इतर समूहका नेताहरू छन् ।

कांग्रेसमा सबैभनदा पहिला कांग्रेस र एमाले मिलेर बलियो सरकार चलाउनुपर्छ भनेर नेता डा. शेखर कोइरालाले बोलेका थिए । अहिले सबैभन्दा बढी सरकारको आलोचना उनै डा. शेखरले गरिरहेका छन् ।

कोइरालाले माओवादीसँग कांग्रेस सत्ता सहकार्यमा रहँदैदेखि एमालेसँग मिल्नुपर्ने वकालत गर्दै आएका थिए। त्यतिमात्र होइन डा. कोइरालाले कोशी प्रदेशमा आफू निकटका नेता केदार कार्कीलाई एमालेकै समर्थनमा मुख्यमन्त्री बनाएर कांग्रेस एमाले सहकार्यको बिजारोपणसमेत गरेका थिए ।

उनै कोइराला स्थायित्वका लागि संविधान संशोधनसमेत गर्ने भनेर बनेको कांग्रेस–एमाले गठबन्धन सरकारसँग सरकार बनेको १०० दिन नपुग्दैदेखि असन्तुष्टि जनाउन थालेका छन् ।

सबैभन्दा पहिला डा. कोइरालाले कात्तिक पहिलो साता मोरङ पुगेर ‘सरकार सरकार जस्तो हुन नसकेको’ टिप्पणी गरेका थिए। ‘यो सरकार ढल्दैन‚ चल्छ तर सरकार सरकार जस्तो भएर चल्नुपर्छ,’ कोइरालाले भनेका थिए, ‘गाडीमा झन्डा हल्लाउँदै हिँड्न र जनताले तिरेको करबाट सेवा सुविधा खान मात्रै सरकार बनेको होइन। मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्छ। जनतालाई सरकार भएको अनुभूति दिनुपर्छ।’ ​

कोइरालाको असन्तुष्टिको क्रम त्यहाँबाट सुरु भएको हो, जुन अहिलेसम्म रोकिएको छैन । डा. कोइरालाले १० कात्तिकमा कांग्रेस कामपा–३२ को कार्यक्रममा सरकारप्रतिको आफ्नो असन्तुष्टि बुँदागत रूपमै राखेका थिए । उनका असन्तुष्टि बुदागतरूपमा यस्ता थिए ।

पहिलो, विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङको बक्यौता उठाउने कदममा हस्तक्षेप गर्दै सरकारले उद्योगीको पक्ष लिनु हुन्न ।

दोस्रो, उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोज्नु उपयुक्त कार्य होइन ।

तेस्रो, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन आवश्यक छैन ।

कोइरालाले त्यसपछि विभिन्न सार्वजनिक कार्यक्रमका मञ्चमा सरकारबारे असन्तुष्टि जनाइरहेका छन् ।

कोइरालापछि सरकारका काममा असन्तुष्टि जनाउने अर्का नेता हुन्, हृदयराम थानी । थानीले १२ कात्तिकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गिरिबन्धु प्रकरणको छानबिन कहाँ पुग्यो भन्दै आफ्नै पार्टीका गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका थिए।

‘भ्रष्टाचारका काण्ड उठेका छन्। गिरिबन्धु कहाँ पुगेको छ ? क्याटोन्मेट कहाँ पुगेको छ ? यती र ओम्नी कहाँ पुग्यो ?,’ थानीले प्रश्न गरेका थिए । यी प्रकरणमा सरकारले छानबिन गर्ने हो कि होइन भनेर उनले जवाफसमेत मागे।

थानी डा. शेखरले नेतृत्व गरेको इतर समूहका सांसद हुन् ।

कांग्रेसको इतर समूहका नेताले मात्रै होइन, संस्थापन समूहका नेताले पनि सरकारका कामको आलोचना गरिरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट भनेर चिनिएका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको सात बुँदे सहमति अनुसार सरकार चल्न नसकेको आरोप लगाएका छन् ।

कांग्रेस नगर कार्यसमिति सूर्योदय नगर पालिका इलामले आयोजना गरेको कार्यक्रममा कांग्रेसको शिक्षा विभाग प्रमुखसमेत रहेका महरले सोमबार भने, ‘सरकार गठन भएको पाँच महिना बित्दा पनि गठबन्धनको स्पिड अनुसार चल्नसकेको छैन। यसले कांग्रेसको घोषणा पत्रलाई पनि धेरै ध्यान दिएको देखिँदैन। कांग्रेस–एमालेबीच गठबन्धन हुँदै गर्दा जनतामाझ व्याप्त निराशालाई आसामा परिणत गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले संसद‍्मा व्यक्त गर्नु भएको थियो । त्यस अनुरूप काम देखिएन। प्रतिबद्धता अनुसार काम नहुँदा पुनः जनतामा वितृष्णा फैलिने हो कि भन्ने डर बढ्न थालेको छ।’

देशका दुई ठूला शक्ति एक ठाउँमा आउँदा सुरुमा जनतामा ठूलो आसा रहे पनि बिस्तारै निराशामा परिणत भइरहेको महरको भनाइ छ । निरासालाई आसामा परिणत गर्न सरकार सहमति अनुसार अगाडि बढ्नुपर्ने महरले बताए।

कांग्रेसको संस्थापन पक्षकै केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताएकी छन् । मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा संग्रौलाले जुन उद्देश्यका निम्ति सरकार गठन गरिएको थियो, त्यो पूरा गर्न सफल नभएको बताइन् ।

जनताले विकासको अनुभूति गर्न नसकेको, सरकार सञ्चालनमा भएकाहरू अल्मलिएको उल्लेख गर्दै डा. संग्रौलाले मुलुकमा स्थिरता कायम गर्न संविधान संशोधनका निम्ति ठूला दल मिलेर सरकार बनाइएकाले गम्भीर भएर अघि बढ्नुपर्नेमा बताइन् ।