काठमाण्डु – चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसंग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरोसहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गरेका छन् ।
भेटमा उनीहरूबीच आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको नगरपालिकाले जनाएको छ । भेटमा नगरप्रमुख गिरीले नगरपालिकाबाट भए ÷गरेका कामका बारेमा राजदूतलाई संक्षिप्त जानकारी गराएका थिए ।
उनले नगरपालिकाबाट भइराखेको फोहरमैला व्यवस्थापन, खानेपानी , रोजगारी सिर्जना, सूचना प्रविधिको उपयोग, भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि राजदूतलाई अवगत गराएका थिए ।
भेटमा कार्यवाहक राजदूत ताकाहिरोले नगरप्रमुख गिरी सहित जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीद्वारा नागढुङ्गा सुरुङमार्ग निर्माणका क्रममा भएको समन्वयकारी भूमिकाको लागि धन्यवाद दिए ।
उनले नगरपालिकाका अन्य क्षेत्रमा पनि हुनसक्ने साथ र सहयोगको लागि जापान सरकार तयार रहेको जानकारी दिए । भेटका अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरपालिकाद्वारा आयोजित स्थानीय उत्पादन प्रदर्शनीको अवलोकन गरेका थिए ।
प्रतिक्रिया