परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हालै युरोप र भारत भ्रमण सकेर स्वदेश फर्किएकी छन् । मन्त्री राणा बेल्जियम, नेदरल्याण्ड्स, लक्जेम्बर्ग र जर्मनीको भ्रमणपछि पुस ३ गते भारत गइन् ।
युरोपमा उनले यौनिक र लैंगिक अल्पसंख्यकहरूको अधिकार सम्बन्धी सम्मेलन २०२४ मा सहभागिता जनाएकी थिइन् । युरोपबाट सिधै भारत आएकी उनी नयाँदिल्लीमा भारत–नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) मा प्रमुख वक्त बनिन् । मन्त्री राणाको नयाँदिल्लीमा २ वटा उद्देश्य थियो – स्वास्थ्य उपचार र भारतीय शीर्ष नेताहरूसँग भेटघाट ।
दिल्लीमा उनले स्वास्थ्य उपचार त गराइन् तर अथक प्रयासका बाबजुद कुनै पनि भारतीय नेताहरूसँग उनको भेटघाट हुन सकेन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका लागि समकक्षी एस जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने उनको अपेक्षा यसपटक पूरा भएन ।
गत भदौमा पनि उनले भारतको भ्रमण गरेकी थिइन् । सुरुमा अनौपचारिक भनिएको भ्रमण औपचारिक बनाइएको थियो । त्यतिबेला उनलाई भारतले दिएको सम्मान र यतिबेलाको बेवास्ताले कूटनीतिक सम्बन्ध कोल्टे फेरेको नेपालमा चर्चा भइरहेको छ । प्रधानमन्त्री ओलीको हालै चीन भ्रमणका क्रममा भएको चिनियाँ अवधारणा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कोअपरेसन फ्रेमवर्कमा हस्ताक्षर भएपछि भारत ठुस्किएको हुनसक्ने विश्लेषण नेपालमा भइरहेको छ ।
चीनबाट फर्केलगत्तै प्रधानमन्त्री ओलीले आफू अब भारत भ्रमणमा जाने घोषणा गरेका थिए । त्यही घोषणाअनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी काठमाण्डुले थाले पनि भारतले अहिलेसम्म चासो दिएको छैन । यसै सन्दर्भमा परराष्ट्र मामिला जानकार डा. इन्द्र कुमारी अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंशः
परराष्ट्रमन्त्री राणाले हालै भारतको अनौपचारिक भ्रमण गरेका छन् तर भ्रमणले महत्त्व किन नपाएको होला ?
– हामी असाध्यै भारत केन्द्रित, भारतमुखी भयौं । यो कस्तो खालको मनोविज्ञान हो ? बुझ्नै सकिएको छैन । शासनमा जाने बित्तिकै भारतको आशिर्वादमा हामी चरम ग्रसित छौं । प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतबाट गर्ने एउटा परम्परा छ भने भारतमुखी मनोविज्ञानले पनि काम गरिरहेको छ तर यसो भनिरहँदा भारतले चान्स दिएन, भाउ दिएन भन्दा सुरुदेखि नै हामीले भेटघाटका लागि पहल गर्यौं कि गरेनौं ? त्यो महत्त्वपूर्ण हो तर मलाई परराष्ट्रमन्त्रीको भारत भ्रमणका विषयमा पहल नभएको जस्तो लागेको छ । किनभने जब परराष्ट्रमन्त्री दिल्ली पुग्नुभयो, त्यतिबेला भारतमा प्रधानमन्त्री र विदेशमन्त्री स्वदेश बाहिर थिए । यदि भ्रमणको पहल भएको भए नेपालले यो सूचना अवश्य पाउँथ्यो । भारतका प्रधानमन्त्री र विदेशमन्त्रीको व्यस्त तालिका हुन्छ । त्यही व्यस्तताबीच समय मिलाउनुपर्छ तर उहाँहरू भेटिइहाल्नुहुन्छ भन्ने मानसिकता देखियो ।
हाम्रो मन्त्री द्विपक्षीय भ्रमणभन्दा उपचार गराउन दिल्ली जानुभएको हो तर यदि भारतीय समकक्षी र प्रधानमन्त्रीसँग भेटघाट गर्ने इच्छा नै थियो भने योजनाबद्ध तरिकाले जानुपर्दथ्यो । भ्रमणअघि यसका लागि दुवै देशमा रहेका दूतावासहरूसँग पनि आपसी संवाद नभएको जस्तो लाग्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको चर्चा चलिरहेको छ । परराष्ट्रमन्त्री राणाको भ्रमण त्यसैका लागि वातावरण बनाउन थियो भन्ने गरिन्छ । तपाईंलाई के लाग्छ ?
– परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण बनाउन जानुभएको हो कि होइन ? त्यो पनि प्रष्ट छैन तर भ्रमणका क्रममा देखिएका केही घटनाहरूले आफैंमा अन्योल सिर्जना गरेको छ ।
भ्रमणको पहिलो उद्देश्य आफ्नो उपचार गराउनु रहेको थियो । उपचारका लागि आउने व्यक्तिलाई सरकारी मान्छेले भेट दिन्छन् नै भन्ने अपेक्षा गर्नु हुँदैन । अर्को उहाँ (मन्त्री राणा) केयूले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभयो । औषधि उपचारको क्रममा गएको बेलामा औपचारिक कार्यक्रममा सहभागी हुनु अर्को विषय भयो तर उपचारसँगै उच्चस्तरीय भेट हुन्छ नै भन्ने हुँदैन ।
अर्को हाम्रो मनोविज्ञान पनि के हो भने आएपछि भेटघाट नगरी फर्किनुहुन्न । यस्तो पहिला पनि भएको हो । हाम्रै केही मन्त्रीहरू भेटघाट गर्न दिल्लीमा कुरेका हुन् । भारतबाट आउने साना कर्मचारी होस् कि कुनै नेता, नेपालमा राष्ट्रपति, प्रधानमन्त्रीले सजिलै भेट दिन्छन् तर हाम्रा नेता, मन्त्रीहरूले भारतीय नेता र मन्त्रीसँग भेट पाउनै गाह्रो छ । अघिल्लो पटक देउवाजी भारत जाँदा भारतीय प्रधानमन्त्रीले भेट दिनुभएको थियो तर हरेक पटक यस्तै हुन्छ भन्ने हुँदैन ।
चीनबाट फर्किनेबित्तिकै प्रधानमन्त्री ओलीले अबको यात्रा भारत हुने भन्नुभएको थियो । भ्रमण टुंगो नहुँदै प्रधानमन्त्रीबाट यस्ता कुरा आउनु हुँदैन, यो बलियो कूटनीति होइन । यो सरकार बनेपछि भारत रिसाएको छ हल्ला पनि काठमाण्डुमा चलेको छ । भारतले भ्रमणका लागि बोलाएन र भारतलाई देखाइदिने भन्दै ओली चीन गएको जस्ता भाष्य हामीले आफैं बनाएका हौं ।
ओली चीनबाट फर्केर आएपछि अब भारत जान्छु भन्नु कूटनीतिक हिसाबले कति सही हो ?
– मैले अघि नै भने हाम्रो भारतमुखी मनोविज्ञान छ । भारत नगए सुखै छैन भन्ने मानसिकता छ । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा चीन गए, उताबाट फर्केपछि उहाँले पनि त्यहीँ भनेका थिए कि पहिलो औपचारिक भ्रमण भारतबाटै हुन्छ ।
अघिल्लोपटक परराष्ट्रमन्त्री भारत जाँदा निकै महत्त्व दिएको भारतले यसपटक बेवास्ता किन गरेको होला ?
– नेपालको परराष्ट्रमन्त्रीलाई भारतले सधैं रातो कार्पेट ओछ्याएर किन बस्छ ? यहाँ हामीले जे बुझ्छौं, जे ठान्छौं, त्यति मात्रै होइन । यहाँका हरेक सन्देश उता पुगिरहेको हुन्छ ।
परराष्ट्रमन्त्री उपचारका लागि आउँदैछिन् र यसपछाडि उहाँको ‘मोटिभ’ के होला भारतले नबुझेको होला र ?
जब प्रधानमन्त्रीको च्यानललाई भारतले इग्नोर गर्छ र त्यही मोटिभका साथ पररराष्ट्रमन्त्री आउँदैछिन् भन्ने कुरा भारतले नबुझेको भन्न मिल्दैन ।
हाम्रो परराष्ट्रमन्त्री दिल्ली जाँदा त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्री नहुने संयोग परेको छ । परराष्ट्रमन्त्रीले कसैलाई भेट नपाउने विषयलाई भारतले सजिलै बहाना बनाउन पनि सफल भएको छ ।
जुन टाइममा उपचारका लागि परराष्ट्रमन्त्री जानुभयो त्यो टाइममा उहाँहरूको व्यस्त तालिका थियो । भारतले बेवास्ता भन्दै नगर्ने गरी राम्ररी व्यवस्थापन गरे ।
प्रधानमन्त्रीको अबको भ्रमण भारत हुने भनेर नेपालमा व्यापक चर्चा चलेको छ तर भारतबाट अहिलेसम्म सकारात्क सन्देश नआउनुको कारण के हो ?
– नेपाल सरकारलाई भारतले प्राथमिकतामा राखेको छैन भन्ने नै हो । हामी कहाँ कस्तो छ भने प्रधानमन्त्री हुने बित्तिकै भारत जानैपर्छ भन्ने मानसिकता छ ।
उनीहरूको लामो सेड्युल हुन्छ । हरेक कुरा सेड्युलमा भइरहेको हुन्छ । कसलाई कति प्राथमिकतामा राख्ने भन्ने कुरा पहिला नै तय भएको हुन्छ । नेपालमा सरकार परिवर्तनको टुंगो हुँदैन, को कहिले प्रधानमन्त्री हुने टुंगो हुँदैन । जसका कारण यहाँको सरकार र प्रधानमन्त्री भारतको प्राथमिकतामा पर्न छाडेको हो ।
खासमा भारतलाई बेवास्ता गर्नका लागि कुनै बहाना नै चाँहिदैन । कूटनीतिमा भेट दिन्न भनेर भनिँदैन तर कुरा टार्दै गएपछि बुझ्नुपर्छ ‘इग्नोर’ गरिएको हो । एउटा कुरा बुझ्नुपर्छ – प्रधानमन्त्री भएको ५ महिना भयो तर भारतबाट औपचारिक निम्तो आएको छैन । हाम्रा प्रधानमन्त्रीले मोदीलाई पटक–पटक निम्तो दिएका छन् तर मोदीबाट एकपटक पनि निम्तो मान्न आएका छैनन् ।
यी परिघटनाहरूले भारतले नेपाललाई प्राथमिकतामा नराखेको अर्थ लाग्छ ?
– प्रधानमन्त्रीसँग भारतको ठूलो चित दुखाइ छ । चुच्चे नक्सा एउटा विषय हो तर यो नेपालको संसद्ले पारित गरे पनि त्यतिबेला ओली नै प्रधानमन्त्री थिए । ओलीले त नक्सालाई एमालेको एजेन्डा पनि भन्नुभएको थियो । नक्सामा उहाँले उग्रराष्ट्रवाद देखाउनुभएको थियो । नक्साको जस ओलीले लिन खोज्दा अहिले उहाँ टार्गेटमा पर्नुभएको छ । ओली सहिष्णु कूटनीतिका जानकार पनि हुनुहुन्न, उहाँले जोक्सकै नाममा के बोल्ने भन्ने ख्याल गर्नुहुन्न, आफूले बोलेको कुराको परिणाम के होला ख्याल गर्नुहुन्न ।
ओलीको यस्तो भाषाका कारण भारतीय नेताहरू मात्र होइन, जनता पनि चिढिएका छन् । ओली भारतीय संस्थापन पक्षका मात्रै नभएर जनताका लागि पनि नरुचाइएका पात्र बनेका छन् ।
प्रतिक्रिया