काठमाण्डु – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ कर्थली घर भई काठमाण्डुको नयाँबानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का र नुवाकोटको बिदुर नगरपालिका–३ घर भई काठमाण्डुको कलंकी बस्ने ३६ वर्षीया पुन्यवती जोशी रहेका छन् ।
पक्राउमध्ये रमेशले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र पुन्यवतीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले रमेशलाई काठमाण्डु महानगरपालिका–९ बाट र पुन्यवतीलाई काठमाण्डुको कलंकीबाट पक्राउ गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।
प्रतिक्रिया