भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह रहेनन्

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह रहेनन्


काठमाण्डु- भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ ।

९२ वर्षीय सिंह घरमा अचानक बेहोस भएपछि दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो । उपचारको क्रममा उनको गएराति निधन भएको हो ।

सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो ।

सन् १९३२ मा पञ्जाबमा जन्मिएका सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका थिए ।

सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलो पटक सन् प्रधानमन्त्री भएका थिए ।

यस्तै सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकालमा पनि प्रधानमन्त्री भएका थिए । उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिेका थिए ।

भारतीय प्रधानमन्त्री मोदी लगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले सिंहलाई असल एवम् कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन् ।

प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफूलाई दुःखी तुल्याएको बताएका छन् । सिंहलाई भारतको उदारीकरण र आर्थिक सुधारहरूका योजनाकार मानिन्छ ।

नेपालको राजनीतिक मामिलामा पनि सिंह अविस्मरणीय पात्र मानिन्छन् । उनी भारतको प्रधानमन्त्री भएकै बेला नेपालका प्रमुख दल र तत्कालीन विद्रोही माओवादीबीच नयाँ दिल्लीमा १२ बुँदे सम्झौता भएको थियो ।