बिमस्टेकको छैटौं शिखर सम्मेलन वैशाखमा हुने

बिमस्टेकको छैटौं शिखर सम्मेलन वैशाखमा हुने


काठमाण्डु- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को स्थगित छैटौं शिखर सम्मेलनका लागि थाइल्याण्डले नयाँ मिति प्रस्ताव गरेको छ ।

थाइल्याण्डले आउँदो वर्ष वैशाखको पहिलो साता सम्मेलन आयोजना गर्ने निर्णय गर्दै सहमतिका लागि सदस्य राष्ट्रहरूलाई प्रस्ताव पठाएको छ ।

सम्मेलनका लागि प्रधानमन्त्रीले निमन्त्रणा पाइसकेको र नेपालले शिखर सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिम्स्टेकको छैटौं शिखर सम्मेलन यसअघि सेप्टेम्बरको पहिलो साता थाइल्याण्डमा हुने तय भएको थियो । तर त्यहाँको राजनीतिक परिर्वतनका कारण सम्मेलन अन्तिम सयममा स्थगित भएको थियो । त्यतिबेला प्रधानमन्त्री ओलीले सम्मेलनमा भाग लिनुका साथै सम्मेलन पछि थाइल्याण्ड भ्रमणलाई द्विपक्षीय बनाउने तयारी समेत गरेका थिए ।

‘थाइल्याण्डले अप्रिलको पहिलो हप्तामा नयाँ मिति प्रस्ताव गरेको छ र हामीले सहमति गरिसकेका छौं’ विदेश मन्त्रालयका एक अधिकारीले भने । तर, यसपटक प्रधानमन्त्रीले थाइल्याण्डको द्विपक्षीय भ्रमण गर्ने कि नगर्ने भन्ने अहिले अनिश्चित छ ।

बिमस्टेकमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमार छन् । यसको शिखर सम्मेलन प्रत्येक दुई वर्ष हुनेगर्छ ।

शिखर सम्मेलन अघि सदस्य राष्ट्रबीच बहुपक्षीय बैठक बसेको छ । बिम्स्टेकको अध्यक्ष राष्ट्र थाइल्याण्डले डिसेम्बर १९ मा २४ औं बिमस्टेक वरिष्ठ अधिकारीहरूको बैठक भर्चुअल रूपमा आयोजना गरेको थियो ।

थाइल्यान्डले सन् २०२५ को अप्रिलमा हुने छैटौं बिमस्टेक शिखर सम्मेलनको प्रस्तावित कार्यतालिका पनि बैठकलाई जानकारी गराएको छ ।