काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् ।
नेपाल निर्यात परिषद्को २७औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि यी २ विषयमा गम्भीर भएर लाग्नुपर्ने धारणा राखे ।
‘सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति अनुरूप काम गर्नुपर्छ । आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ ? त्यसतर्फ ध्यान दिनुपर्यो । निर्यातका लागि पनि सोही अनुरूप नीति बनाउन र कार्यान्वयन गर्नुपर्छ । यसो गर्न सकेमा सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ,’ उनले भने ।
अध्यक्ष ढकालले निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिबद्धता व्यक्त गरे अनुसार समयमा निर्यातमा अनुदान दिन पनि आग्रह गरे ।
उनले सरकारलाई व्यवसायीलाई प्रदान गरिने सम्मानबाट समेत प्रोत्साहन गर्न सकिने धारणा राखे । यसका लागि सरकारले सीआईपी दिने दिन घोषणा गर्न र व्यवसायीलाई दिने मर्यादामा ध्यान दिन समेत अनुरोध गरे ।
अध्यक्ष ढकालले निर्यात प्रवद्र्धन र विदेशी लगानीका लागि विदेशस्थित नेपाली नियोगहरूलाई पनि नेपालको निर्यात व्यापारको लागि देश अनुरूप लक्ष्य दिन र सो अनुरूपको मूल्यांकन गर्न समेत आग्रह गरे ।
अध्यक्ष ढकालले नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकको अवस्थाबाट विकासोन्मुखमा स्तरोन्नति हुने हुँदा या त नेपाल त्यसको लागि तयार रहनुपर्ने या निश्चित समय थप गर्नका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रले उठाएको चासोप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई समेत आफ्नो प्रतिष्पर्धात्मक क्षमता बढाउन आग्रह गरे । कार्यक्रममा निजी क्षेत्रका अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिले दीगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धन आवश्यक भएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया