काठमाण्डु-सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा हाजिर भएकी छन् ।
प्रहरीको फरार सूचीमा रहेकी कोइराला मोरङ जिल्ला अदालतमा उपस्थित भएकी हुन् । कोइरालाविरुद्ध थुनछेक बहस सुरु हुने अदालत प्रशासनले जनाएको छ ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा तत्कालीन संचालक समिति सदस्य रहेका कारण मुछिएकी कोइरालालाई अदालतले पुस २ मा पक्राउ पूर्जी जारी गरेपछि फरार थिइन् ।
सहकारीका अध्यक्ष कोइराला, शम्भु रौनियार, रंगेली–२ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।
वडाध्यक्ष खवास ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् । सोही प्रकरणमा नाम जोडिएकी कोइराला भने अदालत खुल्ने बित्तकै हाजिर भएकी हुन् ।
कोइराला पेशाले शिक्षक हुन् । लेखा समिति सभापति पत्नी उनी विराटनगरस्थित महेन्द्र रात्री माध्यमिक विद्यालयमा शिक्षिका हुन् ।
अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनी विद्यालयमा पत्र लेखेर अनुपस्थित रहँदै आएकी छिन् । ‘भर्चुअल’ माध्यमबाट उनका सांसद पति पोखरेलले विद्यालयमा पत्र प्रेषित गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक झंकनाथ पराजुलीले कोइरालाको थप बिदाका लागि लिखित निवेदन आएको र त्यो निवेदन उनका पति पोखरेलमार्फत आएको बताएका थिए ।
प्रतिक्रिया