सडकबाट दबाब नदिए शान्ति प्रक्रियाका बाँकी काम टुंगिदैनन् : अध्यक्ष प्रचण्ड

सडकबाट दबाब नदिए शान्ति प्रक्रियाका बाँकी काम टुंगिदैनन् : अध्यक्ष प्रचण्ड


काठमाण्डु- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रिया टुंग्याउनु पर्नेमा जोड दिएका छन् ।

शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवालको विषयक काठमडौंमा आयोजित कार्यक्रममा बुधबार अध्यक्ष प्रचण्डले ऐन बनेपछि संक्रमणकालीन न्यायको विषय अगाडि बढ्ने आफूले सोचे पनि अवरोध भएको टिप्पणी गरे ।

अहिले पनि संक्रमणकालीन न्यायको विषय टुंग्याउन कठिन हुनुमा राजनीति नै कारक रहेको उनले बताए । ‘बाह्र बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्छ’, उनले भने ।

उनले माओवादी नेतृत्वलाई तह लगाउने र सिध्याउने अन्तिम हतियारका रूपमा संक्रमणकालीन न्यायको विषयलाई लिने गरिएको दाबी गरे । ‘माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ ? गरौंला भन्ने सोच र प्रवृत्तिका राजनीतिक मान्छे पनि छन् । यो कुरा आवेग र सेन्टिमेट पनि होइन, एउटा राजनीतिक प्रवृत्ति यस्तो छ, टुंगिन लागेको बेला रोक्छ त्यसले । माओवादी नेतृत्वलाई तह लगाउने, ठिक लगाउने र सिध्याउने अन्तिम हतियार यही हो, टुंग्याउन हुन्न भन्ने प्रवृत्ति छ,’ उनले भने ।

सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने उनको दाबी छ । अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन अवस्था नरहेको प्रचण्डको भनाइ थियो ।