सल्यान – दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएको घटनामा सल्यान प्रहरीले आमालाई नै पक्राउ गरेको छ ।
बनगाड कुपिण्डे नगरपालिका–११ सिस्नेपालकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना बुधबार बिहान घरभित्रै मृत अवस्थामा भेटिएपछि शंकाको सूइँ आमातिरै सोझिएको छ ।
हत्या आशंकामा आमा अन्दाजी २६ वर्षीया पूर्णिमा रानामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले जानकारी दिए । बुवा टेकमान राना रोजगारीका सिलसिलामा नुवाकोटमा रहेका बेला घरमा छोरीहरूसँग आमा मात्रै थिइन् ।
स्वास्थ्यमा कुनै समस्या नरहेका दिदीबहिनी मृत अवस्थामा फेला परेको अवस्थामा आमाबाट नै घटना घटेको हुनसक्ने आशंकासहित पूर्णिमालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रीमान्–श्रीमतीको फोनमा झगडा भएको र त्यहीँ रिसमा पूर्णिमाले हत्या गरेको आशंका गरिएको छ ।
सूचना अधिकारी क्षेत्रीले भने, ‘आमालाई नियन्त्रणमा लिएका छौं । घटनाबारे थप कुरा अनुसन्धानबाट पत्तो लाग्ला । बिहानतिर नुवाकोटमा रहेका श्रीमान्सँग फोनमा झगडा भएको र त्यही रिसमा आफू पनि मर्ने उद्देश्यसहित छोरीलाई मारेको उनले प्रारम्भिक बयान दिएकी छिन् ।
प्रतिक्रिया