काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग बिमस्टेकका महासचिव ईन्द्रमणि पाण्डेले शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा मन्त्री भण्डारीले बिमस्टेक क्षेत्रलाई दीगो विकास, आर्थिक एकीकरण र साझा समृद्धिको फलदायी क्षेत्रमा रूपान्तरण गर्न बिमस्टेक बडापत्रमा समाविष्ट उच्च आदर्श र उद्देश्यप्रतिको नेपालको दृढ प्रतिबद्धता व्यक्त गरे ।
सन् २००४ मा बिमस्टेकको सदस्य भएदेखि नै नेपालले बिमस्टेक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिको सर्वाङ्गीण लक्ष्यहरू प्राप्त गर्नका लागि सदस्य राष्ट्रबीच क्षेत्रीय सहयोग र साझेदारी अभिवृद्धि गर्न सक्रिय भूमिका खेल्दै आएको बताए ।
सन् २००४ मा हस्ताक्षर भएको बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्र सम्बन्धी फ्रेमवर्क सम्झौतालाई पूर्णरूप दिनु सदस्य मुलुकहरूको प्राथमिक कार्यसूचीको रूपमा रहेकाले विभिन्न पूरक सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने कार्यमा हालसम्म भएका विभिन्न संयन्त्रको बैठकमा नेपाल निरन्तर रहँदै आएको बताए । उनले बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने सन्दर्भमा विभिन्न पूरक सम्झौताको मस्यौदालाई अन्तिम रूप दिन बस्ने संयन्त्रको बैठकको समन्वय एवं सदस्य मुलुकका राय/प्रतिक्रियाको सञ्चारका निमित्त बिम्स्टेक सचिवालयले निभाउँदै आएको भूमिका प्रशंसनीय रहेको बताए ।
सम्झौतालाई बिमस्टेक सदस्य मुलुकबीचमा रहेको फरक अवस्था र क्षमताको सम्बोधन हुने गरी एवं सबै मुलुकले समतामूलक लाभ लिने गरी सम्पन्न गर्नुपर्नेमा नेपालको जोड रहेको बताए ।
मन्त्री भण्डारीले नेपालको सन् २०२६मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिलाई सहज तथा दीगो बनाउन र नेपालले दीगो विकासका लक्ष्य प्राप्तिका लागि थप स्रोत, प्रविधि र साझेदारी आवश्यक रहेको बताए । यस्ता मुलुकको दीगो स्तरोन्नतिलाई सहयोग गर्ने विषयमा महासचिव पाण्डेको ध्यानाकर्षण गराए ।
नेपालले २०१८मा चौथो बिमस्टेक सम्मेलनमा आयोजना गरेको विषय स्मरण गराउँदै सम्मेलनले महत्त्वपूर्ण र दीर्घकालीन निर्णयहरू गरेको बताए । जसमध्ये बिमस्टेक चार्टरको रूपरेखा तयार गर्नु, सहमति भएका सहकार्यका क्षेत्रमा प्रगतिको दायरा र सघनतालाई तीव्र बनाउनु र क्षेत्रीय मञ्चलाई थप संस्थागत बनाउने उद्देश्यले बिमस्टेक स्थायी कार्यकारी समितिको स्थापना गर्नु महत्त्वपूर्ण उपलब्धि रहेको स्मरण गराए ।
मन्त्री भण्डारीले पर्यटन, संस्कृति, गरीबी निवारण र जनतासँग जनताको सम्पर्क लगायतका सहकार्यका क्षेत्रहरूमा अधिक समन्वयकारी र परिणाममुखी तवरले अन्य सदस्य राष्ट्रहरूसँग आपसी लाभकारी सहयोग निरन्तर अगाडि बढाउन नेपाल दृढ प्रतिबद्ध रहेको बताए ।
भेटका क्रममा बिमस्टेकका महासचिव पाण्डेले बिम्स्टेकसँग नेपालले राखेका अपेक्षा पूरा गर्न प्रयत्न गर्ने बताए । बिमस्टेक राष्ट्रहरूबीचको व्यावसायिक सम्बन्धसँगै आपसी भाइचारा समेत बढाउन आवश्यक रहेको बताए । उनले क्रेडिट रेटिङमा दक्षिण एसियामा नेपालको दोस्रो स्थान हासिल गरेकोमा लगानीमैत्री वातावरण बन्दै गएको विश्वास व्यक्त गरे । उनले नेपालको आर्थिक विकास र आपसी हितका लागी बिमस्टेकले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया