काठमाण्डु – पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा लामो समय हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रिहा भएका छन् ।
जिल्ला अदालतले कास्की जिल्लाको हकमा उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि अन्य जिल्लाको मुद्दाको हकमा प्रहरीले उनलाई पक्राउ गर्न सक्ने अवस्था थियो । तर प्रहरी र रविबीच काठमाण्डु जिल्ला अदालतमा स्वयं उपस्थित हुने ‘भद्र सहमति’पछि उनलाई श्रीमती निकिता पौडेल र पार्टीका कार्यबाहक सभापति डोलप्रसाद अर्यालको जिम्मा लगाइएको छ ।
परिवारलाई जिम्मा लगाउनुअघि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा उनको स्वास्थ्य परीक्षण गराएको छ । रविविरुद्ध काठमाण्डु, रुपन्देही, चितवन लगायत जिल्लामा पक्राउ पुर्जी जारी भएको छ ।
सामान्य अवस्थामा देशका जुनसुकै जिल्लामा पनि पक्राउ पुर्जी जारी भएको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित जिल्लामा बुझाउने गर्छ तर रविको हकमा कास्की प्रहरीले उनलाई रिहा गर्न भद्र सहमति गरेको छ ।
प्रतिक्रिया