काठमाण्डु-चीनमा नयाँ एमपक्स स्ट्रेनका पाँचवटा घटनाहरू रेकर्ड भएको ।
एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ तर नजिकको शारीरिक सम्पर्कबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । यसले ज्वरो, मांसपेशी दुख्ने र छालामा ठूला फोका जस्ता घाउ निम्त्याउँछ र यो घातक हुनसक्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अगस्टमा यस भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा भएको प्रकोपपछि नोभेम्बरमा यसलाई नवीकरण गरेको थियो । कङ्गोमा यसले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ ।
डब्लुएचओको अगस्टको घोषणाको दुई दिनपछि चीनले आगामी छ महिनाभित्र देशमा प्रवेश गर्ने मानिसहरूलाई एमपक्सका लागि जाँच गर्ने घोषणा गरेको थियो ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूले बिहीबार एमपक्स स्ट्रेन क्लेड १बी को समूहगत प्रकोप फेला परेको जनाएका छन् । यसको सङ्क्रमणको स्रोत डिआरसीमा बसोबास गरेको रेकर्ड भएको व्यक्ति भएको विश्वास गरिएको छ ।
बिरामीसँग नजिकको सम्पर्क भएका चार व्यक्ति यस स्ट्रेनबाट सङ्क्रमित भएको पाइएको र उनीहरूमा डाबर र फोकाको अपेक्षाकृत हल्का लक्षणहरू देखिएको चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले बताएको छ ।
हालसम्म अन्य सम्पर्कहरूमा कुनै केस फेला नपरेको स्वास्थ्य निकायले जनाएको छ । डब्लुएचओका अनुसार सन् २०२२ देखि १२० भन्दा बढी देशमा एमपक्सका केसहरू रिपोर्ट गरिएका छन् ।
प्रतिक्रिया