ट्रम्पको ‘हस मनी’ मुद्दामा न्यूयोर्क अदालतले आज निर्णय सुनाउँदै

ट्रम्पको ‘हस मनी’ मुद्दामा न्यूयोर्क अदालतले आज निर्णय सुनाउँदै


काठमाण्डु – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा त्यहाँको न्यूयोर्क अदालतले शुक्रवार निर्णय सुनाउने भएको छ ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ‘हस मनी’ अर्थात् रकम दिएर आपराधिक घटना लुकाउन गरेको प्रयासमा दोषी ठहर भएका ट्रम्पको मुद्दामा निर्णय सुनाउन लागिएको हो ।

पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न ट्रम्पले रकम दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दामा ट्रम्पविरुद्ध न्यूयोर्क अदालतले निर्णय सुनाउन लागेको बीबीसीले जनाएको छ ।

गत वर्ष जुलाई १ मा अमेरिकाको सर्वोच्च अदालतले कुनै पनि राष्ट्रपति वा पूर्वराष्ट्रपतिले आफ्नो कार्यकालका बेला गरेको गतिविधिमाथि लगाइएको मुद्दामा स्वतः छुट हुने आदेश जारी गरेको थियो । सोही आधारलाई टेकेर ट्रम्पले राष्ट्रपति निर्वाचन जितेका कारण उक्त मुद्दा खारेज गर्न उनका वकिलले अपिल गरेका थिए । तर, न्यायाधीश जुआन मर्चनले ट्रम्पको अपिललाई खारेज गरी शुक्रवारका लागि सजाय सुनाउने मिति तोकेका हुन् ।

बीबीसीका अनुसार अदालतले ट्रम्पलाई जेलमा पठाउने वा जेल बाहिर राखेर चालचलन सुधार्न मौका दिने वा जरिवाना तोक्ने वा निःसर्त छोड्नेबारे आदेश आउन सक्छ ।

यदि अदालतले सजाय सुनाए कानुनी रूपमा दोषी व्यक्तिका रूपमा ट्रम्प ह्वाइटहाउस प्रवेश गर्नेछन् । यद्यपि उनलाई अदालतको फैसलामा पुनरावेदन गर्ने विकल्प भने बाँकी रहने छ । ट्रम्पले अदालतको यो तयारीलाई अवैध राजनीतिक हमला भन्दै टिप्पणी गरेका छन् ।

सन् २०१६ को निर्वाचनअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग ट्रम्पको यौन सम्बन्ध रहेको विषय सार्वजनिक भएको थियो ।

त्यसपछि यो विषयमा ड्यानल्सलाई चुप लगाउन ट्रम्पले १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप लागेको थियो । यो कसुरमा ट्रम्प दोषी ठहरिएका थिए । ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आफूले गलत काम नगरेको जिकिर गर्दै आएका छन् ।

ट्रम्प २०२४ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएका छन् । उनले जनवरी २० मा राष्ट्रपति पदको शपथ लिनेछन् ।