सहमतिमै संविधान संशोधन हुन्छ : मन्त्री गुरूङ

सहमतिमै संविधान संशोधन हुन्छ : मन्त्री गुरूङ


काठमाडौं-सूचना तथा संचार मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका छन् ।

सिंहदरबारमा शुक्रवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको सहमति अनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताए ।

संविधान संशोधनलई राष्ट्रिय एजेण्डाका आधारमा अघि बढाउनुपर्ने अवस्था रहेकाले केहि समय लाग्न सक्ने उनको भनाइ छ ।

एमाले अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा २०८७ को माघमा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएको भन्दै कांग्रेसका केही नेताले टिप्पणी गरिरहेका बेला एमाले उपमहासचिवसमेत रहेका गुरुङले यसो भनेका हुन् ।

उनले भने, ‘संविधान संशोधनका लागि पुरा गर्नुपर्ने प्रक्रिया लामो हुनसक्ने भएकाले केहि समय लाग्न सक्ने संकेत मात्रै प्रधानमन्त्रीले अभिव्यक्त गरेको हुनसक्छ ।’

प्रवक्ता गुरुङले संविधान संशोधन गर्नुपर्ने कारणहरू पहिचान गरेर दुईदलले संशोधनको विषय किटान गर्ने र त्यसपछि उक्त विषयमा अन्य दलहरूसँग छलफल गरिने धारणा राखे ।

उनले सदनमा होल्डमा रहेका विधेयकलाई समेत अन्य दलसँग छलफल गरेर छिटो भन्दा छिटो अघि बढाइने पनि बताए ।