काठमाण्डु – प्राथमिक सेयर (आइपीओ) निष्कासनका लागि ८५ कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । लामो समयसम्म बोर्ड अध्यक्ष रिक्त हुँदा आइपीओ निष्कासनसम्बन्धी निर्णय हुन नसक्दा धेरै कम्पनीका आवेदन बोर्डमा थन्किएर बसेका छन् ।
अघिल्लो पुस २१ गतेदेखि खाली रहेको बोर्ड अध्यक्षमा सरकारले १० मंसिरमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो । अध्यक्षमा श्रेष्ठ नियुक्त भएपछि प्राथमिक निष्कासनले प्राथमिकता पाउने आशा गरे पनि श्रेष्ठले त्यो विषयलाई प्राथमिकतामा राखेका छैनन् ।
नियुक्त भएको २५ पुसमा डेढ महिना पुगे पनि श्रेष्ठले अहिलेसम्म एउटा कम्पनीलाई पनि आइपीओ निष्कासनको अनुमति दिएका छैनन् । यो बीचमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ जारी भए पनि यो श्रेष्ठ नियुक्त नहुँदै निर्णय भएको थियो । मंसिर ७ गते चालु आर्थिक वर्षको पहिलो आइपीओका रूपमा गार्डियनको आइपीओ स्वीकृत भएको थियो ।
बोर्डले नयाँ अध्यक्ष आएको अर्को साताबाट आइपीओ निष्कासन धमाधम सुरु हुने भएको थियो । तर डेढ महिनासम्म आइपीओ जारी नभएपछि लगानीकर्ताले समेत बोर्डमा प्रश्न गर्न थालेका छन् ।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले लामो समय पेन्डिङमा रहेका आइपीओ निष्कासनसम्बन्धी फाइल अध्ययन भइरहकाले केही समय लागेको र अब केही समयमा आइपीओ निष्कासनको अनुमति दिने क्रम सुरु हुने जानकारी दिए ।
धेरै कम्पनीले आफूहरूको प्रस्ताव स्वीकृत हुने हो कि अस्वीकृत हुने हो निश्चित नभएपछि काम गर्नसमेत नपाएको गुनासो गर्दै आएका छन् । धेरै कम्पनीका दोस्रो बजारबाट पैसा उठाउनका लागि बनाएका योजनाहरू पनि बोर्डले निर्णय गर्न नसक्दा प्रभावित भएका छन् ।
समस्या रहेका कम्पनीको आवेदन अस्वीकृत गर्ने र प्रक्रिया पुगेका र समस्या नभएका कम्पनीको प्रस्ताव स्वीकृत गर्ने अधिकार अध्यक्ष र बोर्डलाई भए पनि त्यसमा अध्यक्ष श्रेष्ठले ध्यान दिएको दैखिदैन ।
प्रतिक्रिया