सरकारले स्पष्टीकरण माग्दा कुलमानद्वारा कार्यसम्पादन विवरण पेश

सरकारले स्पष्टीकरण माग्दा कुलमानद्वारा कार्यसम्पादन विवरण पेश


काठमाण्डु – समयमै कार्यसम्पादन विवरण नबुझाएर स्पष्टीकरण सोधिएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बल्ल कार्यसम्पादन विवरण बुझाएका छन् ।

गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कार्यसम्पादन विवरण नबुझाएको लगायत कारण देखाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण सोधिएपछि कार्यकारी निर्देशक घिसिङले ९८.९९ प्रतिशत अकं दाबी गर्दै कार्यसम्पादन सूचकांक समेटिएको विवरण मन्त्रालयमा पेश गरेका छन् ।

मन्त्री दीपक खड्काले १ हप्ताभित्र जवाफ दिन समयसीमा तोकेर गत सोमबार ९ बुँदे स्पष्टीकरण सोधेका थिए । प्राधिकरणको बोर्डको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर सरकारलाई अवज्ञा गरेको, सरकारले सोधेका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र कार्यसम्पादन विवरण समेत समयमा नबुझाएको कारण देखाउँदै ‘तपाईंको नियुक्ति नै अन्त्य किन नगर्ने’ भनी स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण बुझाउने म्याद बाँकी छँदै उनले स्पष्टीकरणको एउटा विषय कार्यसम्पादन विवरण पेश गरेका छन् ।

सरकारले २०७८ साउन २५ गते घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रोपटक नियुक्त गरिएको थियो । मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ गते प्राधिकरण सुधारका विभिन्न सूचकाकंसहित कार्यसम्पादन सम्झौता भएको थियो । सम्झौतामा हरेक आर्थिक वर्षको कार्यसम्पादन विवरण मन्त्रालयमा बुझाउने उल्लेख छ ।