काठमाण्डु – पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८७ माघमा संविधान संशोधन हुने अभिव्यक्ति दिएपछि सत्ता राजनीति तरङ्गित बनेको छ ।
कांग्रेस–एमालेबीच नयाँ सत्ता गठबन्धन निर्माण हुनुको प्रमुख आधार संविधान संशोधन थियो । तसर्थ प्रतिनिधि सभाको यसै कार्यकालमा संविधान संशोधन गर्ने गरी बहस चलिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको अर्काे कार्यकालमा संविधान संशोधन हुने भनेर मिति निर्धारण गरिदिए ।
संविधान संशोधनका लागि सत्तारुढ दल मात्रै होइन, प्रतिपक्षी दल पनि सकारात्मक छन् । कतिपय प्रतिपक्षी दलले त संविधान संशोधनका लागि अध्ययन समिति नै बनाइसकेका छन्, यस्तै बेला प्रधानमन्त्री ओलीले भने संविधान संशोधनमा विलम्ब गर्ने गरी अभिव्यक्ति दिएका छन् ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि कांग्रेस नेताहरूले खुलेरै आपत्ति जनाएका छन् । सत्तारुढ दलमा छलफल नै नगरी प्रधानमन्त्री ओलीले एकलौटी रूपमा संविधान संशोधनको मिति घोषणा गरेको कांग्रेस नेताहरूको आरोप छ । यस्तै बेला प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्साहित देखिएका छन् ।
शुक्रबार माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगको छलफलपछि प्रचण्डले उत्साहजनक अभिव्यक्ति दिएका छन् ।
त्रिपक्षीय भेटपछि सिंहदरबारबाट बाहिरिने क्रममा प्रचण्डले सञ्चारकर्मीसँग भने, ‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक, अपारदर्शी छ भन्ने कुरा गम्भीर रूपले सदनमा भनेको सुन्नुभएकै छ, अप्राकृतिक भएकाले अब यो चल्दैन ।’ कांग्रेस–एमालेबीच विवाद चलिरहेका बेला प्रचण्डले प्रतिपक्षी दलसँग छलफल थालेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले २०८७ सालसम्म कार्यकाल लम्ब्याउने र चुनाव नगराउने खेल खेल्नसक्ने आशंका गरेका छन् । उनले भने, ‘२०८७ सालसम्म बस्ने उहाँको चाहना होला । हेरौं २०८७ सम्म चुनावै नगरिकन बस्ने हो कि ? त्यसलाई पनि मान्छेले प्रश्न उठाएका छन् । संसद नै भंग गर्ने मान्छेहरू हुन्, अझै ठेलेको ठेल्यै गरेर अझै ६ वर्ष बसौंला भन्ने सोच्नुभएको छ कि ?’
अध्यक्षद्वय प्रचण्ड र नेपालबीच बिहीबार पनि भेटघाट भएको थियो । संविधान संशोधन, संसद्को अधिवेशन आह्वान लगायत विषयमा प्रतिपक्षी दललाई एकजुट गराउन प्रचण्डले सक्रियता बढाएका माओवादी स्रोतले जनाएको छ ।
प्रतिक्रिया