काठमाण्डु – अतिवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न कतार र इजिप्टसँग सरकारले पुनः आग्रह गरेको छ ।
सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि मध्यस्थ गरिदिन आग्रह गरेको छ ।
हमासले नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई रिहा गर्न लागेपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई जोशीको रिहाइका निम्ति पनि प्रयत्न गर्न आग्रह गरेकी छन् ।
नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग शुक्रबार मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री देउवाले इजिप्ट सरकारसमक्ष नेपालको अनुरोध कार्यान्वयनका निम्ति राजदूतमार्फत आग्रह गरेकी छन् ।
शुक्रबारै परराष्ट्रमन्त्रीले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न आग्रह गरेकी परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल कतारमा रहेका राजदूत अन्सारीले नेपालको अनुरोधबारे विदेशमन्त्रीसँग परामर्श गर्ने जानकारी दिएका जनाइएको छ ।
यसअघि परराष्ट्रमन्त्री देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग जोशीको रिहाइका निम्ति आग्रह गरेकी थिइन् । जोशीको रिहाइका लागि सरकारले कूटनीतिक प्रयास जारी राखेको छ ।
प्रतिक्रिया