प्रकोप नियन्त्रणका नाममा ५ करोड कमिसन खाने इन्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकोप नियन्त्रणका नाममा ५ करोड कमिसन खाने इन्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाण्डु– जलश्रोत तथा सिंचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

श्रेष्ठले लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरुबाट ठेकेदारहरुसँग मिलेमतो गरी कमिसन लिई भ्रष्टाचार गरेको उजुरी परेको थियो । सोही कमिसनबाट उनले काठमाडौं, ललितपुर लगायत बिभिन्न स्थानहरूमा घर घडेरी, गाडी खरिद तथा बिभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको उजुरीमा उल्लेख थियो ।

अनुसन्धान हुँदा श्रेष्ठले ४ करोड ८८ लाख ३० हजार ३ सय २९ रुपैयाँ र पैसा चौवन्न बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुलाउन नसकेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

उनीविरुद्ध ४ करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ ५४ पैसा बिगो कायम गरीएको छ भने उनका पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई समेत प्रतिवादी कायम गरिएको छ ।