लम्बिँदै रविको ‘अदालत यात्रा’ ! काठमाण्डुपछि बुटवल, त्यसपछि चितवन र वीरगञ्ज

लम्बिँदै रविको ‘अदालत यात्रा’ ! काठमाण्डुपछि बुटवल, त्यसपछि चितवन र वीरगञ्ज


काठमाण्डु – राजनीति सुधार्छु भन्दै पार्टी खोलेर उपप्रधानमन्त्री समेत बनिसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यतिबेला राजनीतिमा आउनुअघिको कर्मका कारण कानूनी फन्दामा परेका छन् ।

ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया प्रालिको शेयरधनी र सञ्चालक हुँदा उनले गरेका काम–कारवाही विवादित बनेका छन् र अदालती प्रक्रियासम्म पुगेका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा ८४ दिनसम्म हिरासत बसेका रवि ६५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । न्यायाधीश नीतिज राईको इजलाशले संगठित अपराधमा रविको अन्तरसम्बन्ध देख्दै भनेको छ, ‘सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्य समेत भएको देखिएको तथा अन्य प्रतिवादीहरूसँग देखिएको अन्तरसम्बन्ध र बैंक खाताको ट्रान्जेक्सन समेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरूबाट निज प्रतिवादी अहिले नै रहेनछन भन्न सकिने मनासिब आधार नदेखिए पनि तत्काल प्राप्त माथि उल्लेखित प्रमाणहरूबाट कसूरदार प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ समेतको आधारमा धरौटी ६५,००,०००।– (पैसठ्ठी लाख रुपैंया) नगदै वा बरावरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नु र नदिए वा दिन नसकेमा दफा ८० बमोजिमको थुनुवा पूर्जी दिई थुनामा राख्न कारागार कार्यालय कास्कीमा पठाइदिनू ।’

यसरी सहकारीमा घुमाउरो ‘कनेक्सन’ देखिएका रवि पोखराबाट धरौटीमा छुटेपछि काठमाण्डु जिल्ला अदालतमा चलेको अर्काे सहकारी ठगी मुद्दामा आईतबार प्रहरी थुनामा पठाइएका छन् । काठमाण्डुको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो । भोलि सोमबार हुने थुनछेक बहसले उनलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछ ।

काठमाण्डुमा थुनछेक आदेश आएलगत्तै बुटवलमा रवि विरुद्धको अर्काे मुद्दा ठिक्क परेर बसेको छ । रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गर्न जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । कास्की प्रहरीको हिरासतमा रहेकै बेला प्रहरीले रविलाई बयानका लागि बुटवल समेत ल्याएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रविविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको आरोप छ, जसमध्ये २ करोड रुपैयाँ रवि लामिछानेको नाममा ऋण देखिएको छ ।

सरकारी वकिलले रविविरुद्ध पुरक अभियोगपत्र दायर गर्न अन्तिम तयारी गरेको छ । काठमाण्डुको थुनछेक आदेश आएपछि रविलाई बुटवल ल्याइनेछ ।

बुटवलको थुनछेक बहस सकिएपछि रविले चितवन र वीरगञ्जमा पनि सहकारी ठगी प्रकरणमै अदालत यात्रा गर्नुपर्नेछ । यी दुवै जिल्लामा पनि प्रहरीले रविविरुद्ध सहकारी ठगीको अनुसन्धान गरिरहेको छ ।

साहारा चितवन बहुद्देश्यीय सहकारी संस्थाबाट १० करोड ८० लाख रुपैयाँ गोरखा मिडिया प्रालिमा अवैध तरिकाले लगानी भएको आरोप छ । वीरगञ्जको सानोपाइला सहकारीको रकम अपचलनको आरोपमा पनि पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसरी रविले गोरखा मिडिया प्रालिमा रहँदा गरेको खर्च र लगानीका कारण उनको अदालत यात्रा लम्बिँदै जाने देखिएको छ ।