काठमाण्डु – मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले पारित गरेका ३ अध्यादेश जारी गर्नका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
३ अध्यादेश आईतबार दिउँसो राष्ट्रपति कार्यालय पुगेका राष्ट्रपतिको सचिवालयमा कार्यरत एक कर्मचारीले जानकारी दिए ।
‘३ अध्यादेश सरकारबाट जारी गर्नका लागि सिफारिस भएर आज दिउँसो कार्यालयमा आइपुगेका छन् । अहिले जारी गर्ने कि नगर्ने भन्नेबारे अध्ययन भइरहेको छ,’ राष्ट्रपतिको सचिवालयमा कार्यरत ती कर्मचारीले काठमाण्डुपाटीसँग भने ।
शुक्रबार मन्त्रिपरिषद्ले नेपाल ऐन संशोधन अध्यादेश, भूमि सम्बन्धी कानून संशोधन गर्न बनेको अध्यादेश र लगानी सम्बन्धी कानून संशोधन गर्न बनेको अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले अध्यादेशमा गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति र तिनको परिवारको सदस्यले १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने लगायतका कानूनी व्यवस्था गरिएको जानकारी दिएको छ ।
सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने कानूनी व्यवस्था गर्न, श्रमिकको अनिवार्य अवकाश उमेर हद ५८ वर्षबाट ६० वर्ष बनाउन, नेपाल सरकारको कार्यसम्पादन सरलीकरण गर्दै कुनै निर्णय गर्नुपर्ने अधिकारीले कानूनमा नै मिति तोकिएको भए सोही बमोजिम र अन्य सबै अवस्थामा बढीमा ७ दिनभित्र निर्णय गर्नुपर्ने कानूनी व्यवस्था अध्यादेशमार्फत गरिएको छ ।
प्रतिक्रिया