मधेशी दलहरूको कार्यदलको बैठक भोलि बस्ने

मधेशी दलहरूको कार्यदलको बैठक भोलि बस्ने


काठमाण्डु-मधेश आन्दोलनबाट प्राप्त अधिकार र मधेशी दलहरूको अस्तित्वमाथि नै संकट ल्याउन खोजिएको भन्दै मधेश केन्द्रित दलहरू मोर्चाबन्दी गर्न थालेका छन् ।

मोर्चा बनाउने प्रयास स्वरुप गठित कार्यदलको पहिलो बैठक मंगलवार विहान ११ बजे धुम्बाराहीको समर्पण एकेडेमीमा बस्ने भएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनदेखि थ्रेसहोल्डको प्रतिशत बढाउने गृहकार्य अघि बढाए पछि मधेश केन्द्रित दलहरूले एकै ठाउँमा उभिने कसरत सुरु गरेका छन् ।

त्यसका लागि संवाद थाल्न उनीहरूले कार्यदल गठन गरेका छन् । जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा जनता समाजवादी पार्टीले कार्यदल बनाएर सहकार्य र मोर्चाबन्दी गर्न लागेका हुन् ।

कांग्रेस र एमालेले संविधान संशोधनमार्फत समानुपातिक समावेशी निर्वाचन प्रणाली फेर्ने, थ्रेसहोल्डको प्रतिशत बढाउने र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउनेसम्मको गृहकार्य गर्न थालेपछि त्यसको प्रतिवाद गर्न एकठाउँमा सहकार्य गर्न लागिएको जनमतका उपाध्यक्ष अब्दुल खानले बताए ।

छलफलमा जसपका रेणु यादव र इस्तियाक राई, जसपा नेपालका राजकिशोर यादव, लोसपाका जितेन्द्र सोनल र सुरेन्द्र झा सहभागी हुनेछन् । यस्तै, जनमतबाट खानसहित प्रवक्ता शरद यादव, जनप्रगतिशील पार्टीका शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीका केशव झा तथा तमलोपाका वृषेश चन्द लाल पनि छलफलमा सहभागी हुनेछन् ।