सिन्धुपाल्चोक – पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो सम्भावना भएकाले यसलाई प्रवर्द्धन गरेर लैजानुपर्ने बताएका छन् ।
सिन्धुपाञ्चोकको सुकुटेमा मंगलबारदेखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा पर्यटन विकासका लागि विश्वकै आकर्षक गन्तव्य भएको बताए ।
उनले यसमा खेलकुदलाई जोडेर लैजान सक्नु थप महत्त्वपूर्ण काम हुने बताए । पर्यटकीय क्षेत्र सुकुटेमा राष्ट्रिय भलिबल सुरु हुनु खेल पर्यटनका लागि राम्रो अवसर भएको उल्लेख गर्दै उनले अन्य पर्यटकीय स्थलहरूमा पनि जहाँ जे सम्भावना हुन्छ, त्यसलाई अघि बढाएर लैजानुपर्ने बताए ।
आफू ३ पटक प्रधानमन्त्री हुँदा खेल क्षेत्रको प्रवर्द्धनका लागि बढी नै मेहनत गरेको स्मरण गराउँदै उनले खेल देश र स्वास्थ्यका लागि भएकाले खेल क्षेत्रको जति विकास गर्यो, समाज त्यति नै सभ्य, अनुशासित र जनता स्वस्थ हुँदै जाने बताए । उनले राष्ट्रिय एकता प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न पनि खेल क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताए ।
आफूले क्रिकेट, फूटबल, कराँते लगायतका विभिन्न विधाका खेलको प्रवर्द्धनलाई महत्त्वका साथ लिएको उल्लेख गर्दै उनले दोस्रोपटक प्रधानमन्त्री भएको बेलामा भलिबललाई राष्ट्रिय खेलको रूपमा घोषणा गराएको स्मरण गराए ।
उनले यस क्षेत्रको भौतिक पूर्वाधारको विकास र राजनीतिक विकास अघि बढाउन निरन्तर मेहनत गरिरहेको बताए । नेपालको व्यापारिक इतिहासमा महत्त्वपूर्ण रहेको तातोपानी नाका भूकम्पपछि बन्द भएको र अब नखुल्ने हो कि भन्ने निकै चिन्ता बढेपछि आफूले चिनियाँ राष्ट्रपतिसँग ३ पटक वार्ता गरेको जानकारी दिँदै उनले राष्ट्रपतिकै चासोका कारण खुल्ने अवस्थामा पुगेको बताए ।
आफूले यस क्षेत्रको विकासका लागि केही न केही भूमिका निर्वाह गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हिजो मात्रै आफू सुकुटे पुगेपछि पनि पार्टीका स्थानीय नेता र जनप्रतिनिधिहरूले बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा सरकारको चासो नदिएको गुनासो गरेपछि भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई फोन गरेर ध्यानाकर्षण गराएको र अब सडक बन्नेतिर अघि बढेको बताए ।
सुकुटेको पर्यटन प्रवर्द्धनका अभियान नै चलाएको उल्लेख गर्दै उनले पार्टीको स्थायी समिति बैठक १ हप्तासम्म चलाउनुका साथै पटक–पटक आउने गरेको स्मरण गराए । ‘हामीले पार्टी बैठक हुँदै सुरु गरेको यो अभियानका कारण आजसम्म आउँदा सुकुटे र सिन्धुपाल्चोकमा आन्तरिक पर्यटन प्रवर्द्धन नयाँ ढंगले अघि बढ्नु मेरा लागि पनि गर्वको विषय हो,’ उनले भने, ‘अहिले सुकुटे कोरिडोरकै रूपमा व्यवसायको व्यापक विकास भएको छ । अब आधिकारिक र व्यावसायिक रूपमा सुकुटेलाई पर्यटकीय क्षेत्रको रूपमा घोषणा गर्नुपर्छ र त्यसका लागि मेरो पूरै सहयोग हुनेछ ।’
कार्यक्रमका अन्य वक्ताहरूले सिन्धुपाल्चोकको सुकुटेलाई पर्यटकीय क्षेत्र स्थापित गर्न अध्यक्ष प्रचण्डले ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।
प्रतिक्रिया