मधेश केन्द्रित दलको मोर्चामा जनमत र जसपा ‘इन’ हुँदा जसपा नेपाल ‘आउट’

मधेश केन्द्रित दलको मोर्चामा जनमत र जसपा ‘इन’ हुँदा जसपा नेपाल ‘आउट’


काठमाण्डु – मधेश केन्द्रित राजनीतिक दलहरूबीच मोर्चाबन्दी गर्ने प्रयासमा खटपट सुरु भएको छ ।

मोर्चाबन्दी गर्ने भन्दै मंगलबार काठमाण्डुमा बसेको मधेश केन्द्रित दलको कार्यदल स्तरीय बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सहभागी भएन ।

उपेन्द्र यादव नेतृत्वको पार्टीबाट फुटेर बनेको जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका प्रतिनिधि कार्यदल स्तरीय बैठकमा सहभागी भएपछि जसपा नेपाल सहभागी नभएको हो ।

जनमत पार्टीसँगको टकरावका कारण मधेश प्रदेश सरकारबाट जसपा नेपाल बाहिरिएको थियो । त्यसपछि २ दलबीच मधेशमा पानी बाराबारको अवस्था छ ।

जसपा नेपालले पार्टी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवलाई मोर्चाबन्दी गर्ने कार्यदलमा सहभागी हुने जिम्मेवारी दिएको थियो तर उनी मंगलबारको बैठकमा सहभागी थिएनन् ।

जसपा नेपालका एक नेताले जसपा र जनमत पार्टीका प्रतिनिधिहरू उपस्थित भएकाले आफूहरू सहभागी नभएको जानकारी दिए । आगामी बैठकहरूमा पनि जसपा र जनमतको कुरा सुनिने बैठकमा आफूहरूको सहभागिता नहुने ती नेताले जानकारी दिए ।

उपेन्द्र यादव माओवादी र एकीकृत समाजवादी सहितको पुरानै समाजवादी मोर्चामा सहभागी हुन चाहन्छन् । मधेश केन्द्रित दलको मोर्चामा सहभागी हुँदा समाजवादी मोर्चामा सहभागी हुन गाह्रो हुने आकलन यादवले गरेको निकट स्रोतले बताए ।

यसअघि यादवले समाजवादी मोर्चा जसपा नेपाल छोडेका डा. बाबुराम भट्टराईलाई सहभागी गराइएको भन्दै छोडेका थिए । अहिले समाजवादी मोर्चामा डा. भट्टराई नरहेकाले पुनः सामेल हुन खोजिरहेका छन् ।

कार्यदलको पहिलो बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य, र साझा एजेन्डाबारे २ बुँदामा सहमति जुटाएको छ । बैठकमा जनमत, लोसपा, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चा लगायत दलका नेताहरू सहभागी थिए ।

धुम्बाराहीस्थित समर्पण एकेडेमीमा भएको बैठकमा संविधान संशोधनमा साझा धारणा बनाउने र वार्ता समितिलाई सक्रिय बनाउने सहमति भएको छ ।

बैठकमा जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठी, जनता प्रगतिशील पार्टीको तर्फबाट कार्यदलका सदस्यहरू उपाध्यक्ष डा. शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा, जसपाका कार्यदल सदस्य एवं उपाध्यक्ष रेणु यादव, जनता प्रगतिशील पार्टीका ईश्वर दयाल मिश्र, जनमत पार्टीका कार्यदलका सदस्य एवं पार्टीका प्रवक्ता डा. शरदसिंह यादव, जनता प्रगतिशील पार्टीका डा. भरत थापा, जनता प्रगतिशील पार्टीका मोहम्मद साबिर हुसैन, राष्ट्रिय मुक्ति पार्टी नेपालका अनिल महासेठ, तराई मधेश लोकतान्त्रिक पार्टीका बृजकिशोर सिंह (वृषेशचन्द लाल), लोसपा नेपालका मनिष मिश्र, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायतका नेता सहभागी थिए ।

मधेश केन्द्रित दलबीच २ बुँदामा सहमति