अध्यक्ष ओलीलाई प्रश्न सोध्दा एमाले पूर्वसांसद कार्कीलाई ६ महिना निलम्बनको कारबाही

अध्यक्ष ओलीलाई प्रश्न सोध्दा एमाले पूर्वसांसद कार्कीलाई ६ महिना निलम्बनको कारबाही


काठमाण्डु – पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबूकमा प्रश्न सोध्ने पूर्वसांसद विमल कार्कीलाई नेकपा एमालेले ६ महिना निलम्बन गरेको छ ।

एमालेका तर्फबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १(१) बाट प्रत्यक्ष निर्वाचित कार्कीलाई पुस २७ गते बसेको एमाले कोसी प्रदेश समिति बैठकले ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कार्कीले आफ्नो फेसबूक आईडीबाट पार्टी नेतृत्वविरूद्ध लगातार अभिव्यक्ति दिएपछि सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएपछि ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिए ।

खतिवडाले एमाले उदयपुरका पूर्वउपाध्यक्ष एवं २०७४ सालको निर्वाचनपछि एमाले कोशी प्रदेश संसदीय दलको सचेतकको जिम्मेवारी निभाएका कार्कीलाई मंसिर १६ गते ३ दिनभित्र जवाफ पेश गर्न भन्दै स्पष्टीकरण सोधेका थिए ।

कार्की ओली समूहकै नेता रहेको उदयपुरका एमाले नेताहरू बताउँछन् । कार्कीले ‘पहिले नागरिकतामा खड्गप्रसाद ओली’ र अहिले नागरिकतामा ‘केपी शर्मा (ओली)’ रहेकोबारे फेसबूकमा ओलीलाई प्रश्न सोधेका थिए ।

‘२०४८ को आम चुनाव र ०५१ को मध्यावधि निर्वाचनमा तत्कालीन झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद तथा २०५१ को मनमोहन अधिकारी प्रधानमन्त्रीको सरकारमा भएका गृहमन्त्री र अहिलेका प्रधानमन्त्री एउटै हुन् भनेर नेपाली राजनीतिमा चासो राख्ने सबैले यकिनसाथ भन्छन् । तर तत्कालीन झापाली सांसद तथा गृहमन्त्रीको नागरिकतामा र त्यो बेलाका सरकारी दस्तावेजमा खड्गप्रसाद ओली भनेर लेखिएको छ,’ पूर्वसांसद कार्कीले फेसबूकमा लेखेका छन्, ‘अनि अहिलेका प्रधानमन्त्रीको भनेर सामाजिक सञ्जालमा भाइरल बनेको नागरिकता सम्बन्धी भिडियोमा केपी शर्मा (ओली) भनेर लेखिएको छ । मैले बुझ्न चाहेको कुरा – एउटै मान्छेले दुइटा नागरिकता प्रयोग गरेको हो कि नागरिकता जस्तै मान्छे पनि फरक–फरक नै हुन् ? कसैले तथ्यसहित बुझाइदिनु हुन्थ्यो कि !’

यसअघि एमालेले व्यापारी मीनबहादुर गुरूङले एमालेको पार्टी कार्यालयलाई जग्गा दिने र भवन पनि बनाइदिने विषयको विरोध गरेका नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गरेको थियो ।