काठमाण्डा- खो–खो विश्वकपको पुरुषतर्फ नेपालले बुधवार आफ्नो तेस्रो खेल ब्राजिलसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा बिहीवार भुटानसँग खेल्नेछ । खो–खो विश्वकपमा नेपालबाट महिला र पुरुष दुवै टोलीको सहभागिता छ ।
महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार/चार समूहमा विभाजन गरिएको छ । महिला र पुरुषको समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
मंगलवार पुरुषतर्फ नेपालले पेरुलाई हराउँदै नेपालले पहिलो जीत निकालेको छ । आफ्नो दोस्रो खेलमा नेपालले पेरुलाई ८०–३४ ले हराएको हो ।
भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर हलमा अस्ति भएको उद्घाटन खेलमा नेपाल भारतसँग ४२–३७ ले पराजित भएको थियो । नेपाल रहेको समूह ‘ए’ मा भारत, पेरु, ब्राजिल र भुटान रहेका छन् ।
नेपालको महिला टोलीले मंगलरवार पहिलो खेलमा भुटानलाई ८३–२४ र दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले हराउँदै लगातार दोश्रो जीत निकाल्यो । नेपाली महिला टोलीले बुधवार तेस्रो खेलमा दिउँसो साढे २ बजे श्रीलङ्कसँग खेल्दैछ ।
बिहीवार समूह चरणको अन्तिम खेलमा बङ्गलादेशसँग खेल्नेछ । समूह ‘सी’ मा नेपालसहित, भुटान, जर्मनी, बङ्गलादेश र श्रीलङ्का छन् । दुवैतर्फको फाइनल खेल जनवरी १९ तारिख अर्थात् आउँदो आइतवार हुनेछ ।
प्रतिक्रिया