काठमाण्डु-युक्रेनले रूसमाथि युद्ध शुरु भएको झन्डै तीन वर्षपछि अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको छ ।
त्यसक्रममा रुसका थुप्रै स्थानहरूमा आक्रमण गरिएको युक्रेनले दावी गरेको छ । युक्रेनको सशस्त्र बलले रुसका थुप्रै स्थानहरूलाई गोलाबारुद तथा रासायनिक संयन्त्रले निशाना साँधेको जनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । यसमध्ये केही सीमाभन्दा सयौँ किलोमिटर टाढाका स्थानहरू पनि समावेश छन् ।
युक्रेनको यो दाबी डोनाल्ड ट्रम्प अमेरिकामा राष्ट्रपति पदभार ग्रहण गर्न तयारी गरिरहेको समयमा गरिएको हो । ट्रम्पले जनवरी २० तारिखमा शपथ लिदैँछन्
रूसी रक्षा मन्त्रालयले मंगलबार रातभरीको ठूलो संख्यामा गरिएको क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफ दिने चेतावनी दिएको छ । युक्रेनले रूसमाथि पुनः अमेरिका र बेलायतद्वारा प्रदान गरिएका क्षेप्यास्त्रहरू प्रयोग गरेको हो ।
रूसी सेनाले अधिकांश क्षेप्यास्त्र र ड्रोन खसालिएको दाबी गरेको छ । रूसका साराटोभ र एन्गेल्स शहरहरूमा हमला भएको बताइएको छ, जहाँ केही कारखानाहरूमा क्षति पुगेको छ । केही विमानस्थलहरूको सेवा पनि प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
युक्रेनी सेनाले गत हप्ता पनि उही क्षेत्रमा आक्रमण गरेको थियो, जहाँ रूसी बम्बर विमानहरूको लागि सेवा प्रदान गर्ने एक तेल डिपोमा हमला गरेको दाबी गरेको थियो । यस आक्रमणपछि ठूलो आगो लागेको थियो, जुन नयाँ हमला हुनुभन्दा एक दिन पहिले निभाइएको थियो ।
युक्रेनले गत नोभेम्बरको अन्त्यमा रूस भित्रका लक्ष्यहरूलाई हान्न अमेरिकी एटिएसीएमएस ब्यालिस्टिक क्षेप्यास्त्र र बेलायती स्टोर्म शाडो प्रोजेक्टाइलहरू प्रयोग गर्न शुरु गरेको थियो ।
यसैबीच, रूसले पनि पूर्वी युक्रेनमा अतिक्रमण जारी राखेको छ । किभले रूसको कुस्र्क क्षेत्रमा आफ्नो सैन्य आक्रमण जारी राखेको छ, जहाँ यस हप्ता मस्कोको लागि लड्ने पहिलो उत्तर कोरियाली सैनिकहरूलाई जीवित पक्राउ गरेको दाबी गरिएको थियो ।
युक्रेनले मंगलबार राति रूसले प्रहार गरेका ८० मध्ये ५८ ड्रोनहरू खसालेको जनाएको छ । २१ ड्रोनहरू रडारबाट हराएको बताइएको छ । ड्रोनहरू युक्रेनभरि ११ वटा क्षेत्रहरूमाथि खसालिएका थिए ।
प्रतिक्रिया