इजरायल-हमास युद्धविराम सहमति ‘नजिक’

इजरायल-हमास युद्धविराम सहमति ‘नजिक’

हमासले ३४ बन्दीलाई मुक्त गर्ने भनिएपनि नेपालका विपिन जोशीको नाम छैन


काठमाण्डु- इजरायल र हमास दुवै पक्ष गाजामा युद्धविराम गर्ने सहमतिको निकै निकट पुगेका छन् ।

कतारमा जारी वार्तामा दसहभागी अधिकारीहरूले इजरायल र हमासका अधिकारीहरू युद्धविरामको सहमति नजिक पुगेको संकेत मिलेको बताएका छन् ।

कतारका मध्यस्थकर्ताहरूले युद्धविराम सम्झौता र गाजामा बन्दी बनाइएका व्यक्तिहरूको रिहाइका लागि गरिएका वार्ताका मुख्य मतभिन्नताहरू सल्टिएको बताएका छन् ।

तर इजरायली अधिकारीहरूले पनि आफूहरू सम्झौतानजिक पुगे पनि सम्झौता नै गर्ने चरणमा पुगिसकेको रूपमा अथ्र्याउन नहुने बताएका छन् ।

हमासले भने स्पष्ट र समावेशी सम्झौता हुने गरी वार्ता निष्कर्षमा पुग्ने अपेक्षा गरेको जनाएको छ । अहिले गाजामा १५ महिनादेखि जारी लडाइँ रोकिने आशा पलाएको छ । संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति पदमा बहाल हुनुभन्दा केही दिनअघि मध्यपूर्वमा भइरहेको युद्ध केही समयका लागि रोकिने सम्भावना प्रबल भएको हो ।

अहिले युद्धविराम अस्थायी भए पनि त्यसले निरन्तरता पाउने र दीर्घकालीन शान्ति स्थापन गर्न सघाउने आशा गरिएको छ ।

तीन चरणमा युद्धविराम

बीबीसीका अनुसार युद्धविराम सम्झौताका लागि तीनवटा चरण हुने र पहिलो दिन तीनजना बन्धकहरू रिहा हुने छन् । त्यसपछि इजरायलले आफ्ना फौज फिर्ता गर्नेछन् ।

दुवै पक्ष पहिलो दिन हमासले तीन बन्धक मुक्त गर्न सहमत देखिएका छन् । त्यसपछि इजरायलले बाक्लो बस्ती भएका क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान सुरु गर्ने छ ।

सम्झौताको सात दिनपछि हमासले थप चार बन्धक मुक्त गर्ने र इजरायलले दक्षिणी गाजाबाट विस्थापित भएका मानिसहरूलाई उत्तरतर्फ फर्कन अनुमति दिने छ । तर उनीहरू तटीय मार्गबाट पैदलै फर्कनुपर्ने इजरायलको सर्त छ ।

सम्झौताको खाकाअनुसार इजरायली सैनिकहरूले फिलाडेल्फी कोरिडरमा बसेर पूर्वी र उत्तरी सीमामा ८०० मिटरको ‘बफर जोन’ बनाउने छन् । उनीहरूले पहिलो चरणमा यहाँ ४२ दिनसम्म रहने अनुमति पाउने छन् ।

इजरेलले पनि एक हजार प्यालेस्टिनी बन्दी रिहा गर्ने सहमति व्यक्त गरेको छ । तीध्ये कम्तीमा १९० जना १५ वर्ष वा त्यसभन्दा धेरै वर्ष जेल सजाय तोकिएका व्यक्तिहरू छन् । त्यसको बदलामा हमासले ३४ बन्धक मुक्त गर्ने छ ।

हमासले मुक्त गर्ने बन्धकहरूको सम्भावित सूची यसअघि हमास अधिकारीहरूले उपलब्ध गराएका थिए । उक्त सूचीमा नेपालका विपिन जोशीको नाम छैन ।

यसअघि इजरायल र हमास नेतृत्वको समूहले सन् २०२३ को २४ नोभेम्बर र ३० नोभेम्बरमा अस्थायी युद्धविराम सम्झौता गर्दा हमासले झण्डै २४० जना बन्दीको साटो १०५ जना बन्धक रिहा गरेको थियो ।